२ माघ २०८१, बुधबार

बित्तीय साक्षरता कक्षापछि फजुल खर्च घट्यो



टीकापुर । वित्तीयसाक्षरता कक्षापछि टीकापुर नगरपालिका वडा नम्बर ३ का महिलाहरू आयआर्जनका कार्यमा लागेका छन् ।
सञ्चार प्रतिष्ठान नेपाल, कैलालीद्वारा सञ्चालिन सुरक्षित आप्रवास (सामी) परियोजनाले वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई वित्तीय व्यवस्थापनसम्बन्धी कक्षा सञ्चालन गर्ने गरेको छ ।
बुधबार परियोजनाले गरेको अनुगमनका क्रममा उनीहरूले साक्षरता कक्षामा सहभागी भएपछि रकमको महत्त्व बुझेको र खर्च र आम्दानीको हिसाबकिताब राख्न थालेको बताएका छन् ।
टीकापुरकी उर्मिला चौधरीले कक्षामा सहभागी भएपछि रकमको महत्त्व बुझेको बताउँदै श्रीमान्को कमाइको बचत गर्नुका साथै आफू पनि व्यवसाय गर्न थालेको बताइन् । उनले आफ्ना श्रीमान् तीन वर्ष विदेश बसेर फर्केको बताउँदै हाल व्यवसायिक रूपमा बाख्रा र बंगुर पालन शुरु गरेको बताइन् ।
टीकापुर–३ कै रमितन चौधरीले पनि साक्षरता कक्षापछि हिसाबकिताब राख्न सिकेको बताइन् । उनले आफ्ना श्रीमान् मलेसिया गएको तीन वर्ष भएको बताइन् । भनिन्– अब मैले पनि केही काम शुरु गर्ने सोंच बनाएकी छु । श्रीमान्को कमाइ खर्च गर्नुभन्दा केही कमाउने व्यवसाय गर्ने योजना छ ।
धेरै महिलाहरूले श्रीमान्को कमाइको हिसाब देखाउन नसक्दा घरमा लफडा हुने गरेका घटना पनि सुनिन्छन् । हिसाबकिताब राख्न सिकेकोमा महिलाहरू खुशी छन् । टीकापुरकै लीला बिकले हाल मलेसियामा रहेका श्रीमान्लाई खर्चको विवरण राखेर मोवाइलमा खिचेर पठाउनुहुन्छ । जसले सजिलो भएको उनको अनुभव छ ।
श्रीमान् वैदेशिक रोजगारीमा रहेकी अमिसा चौधरीले पनि श्रीमान् विदेश जाँदा बनाइएका महत्त्वपूर्ण काजगातको फोटोकपी मगाएको बताइन् । अमिसाले विदेश जाँदा अपनाउनुपर्ने सावधानी, विदेशको कमाइको बचत गर्ने तरिका, हिसाबकिताब राख्ने तरिका र आयआर्जनका कार्यमा लाग्न प्रेरणा मिलेको बताइन् ।
टीकापुरकी मञ्जु बिकले साक्षरता कक्षामा पैसाको महत्त्व बुझेपछि छोराछोरीमाथि हुने फजुल खर्च घटाएको बताइन् ।
इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख बसन्त बोहराले फजुल खर्चमा मोबाइल पनि पर्ने गरेको बताउँदै विदेशमा बस्ने परिवारका सदस्यले मोबाइल जस्ता अनावश्यक क्षेत्रमा बढी खर्च गर्ने गरेको बताए ।
टीकापुर–३ का वडाध्यक्ष रामसेवक महतोले विदेश गएका परिवारका सदस्य र महिलामा आएको परिवर्तन देख्दा खुशी लागेको बताउँदै महिलाहरूमा बचत गर्ने बानीको विकास र आयआर्जनका कार्यमा लाग्नु सकारात्मक सन्देश हो भने ।
अनुगमनमा जिल्ला समन्वय समिति कैलालीका उपप्रमुख सुन्दरी चौधरी, इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख वसन्त बोहरा, सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष प्रकाश शाह, विद्यालय तथा आमसञ्चार कार्यक्रमका संयोजक एकिन्द्र तिमिल्सिना, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार