गोली प्रहार तथा लुटपाट घटना : मुख्य योजनाकारसहित पाँच जना सार्वजनिक
धनगढी । गत १३ गते धनगढीमा दिनदहाडै गोली प्रहार गरी साढे नौ लाख लुट्ने कार्यमा संलग्न मुख्य योजनाकारसहित पाँच जनालाई प्रहरीले लुटिएको रकम र पेस्तोलसहित मंगलबार सार्वजनिक गरेको छ ।
१३ गते बिहान १० बजेतिर धनगढी वडा नम्बर २ मुख्यसडकमा आइएमईका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार गरी साढे नौ लाख रुपैयाँ लुटिएको थियो । शिद्धार्थ बैंकबाट रकम निकालेर कार्यालयतर्फ जाँदै गरेका निर्मलमाथि मोटरसाइकलमा आएका दुई जनामध्ये एक जनाले दायाँ पाखुरामा गोली प्रहार गरेको र अर्कोले रकम सहितको झोला लुटेर फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले घटनामा प्रयोग भएको खैरो रंगको अपाचे मोटरसाईकल, युयसए लेखिएको अटोमेटिक पेस्तोल, छ राउण्ड गोली र पाँच लाख ४८ हजार छ सय रुपैयाँ मुख्य योजनाकार, गोली प्रहार गर्ने तथा रकम बोक्ने र लुकाउन सहयोग गर्ने अभियुक्तहरूलाई सार्वजनिक गरेको हो ।
घटनाका मुख्य योजनाकार धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का ३१ वर्षीय राजकुमार चौधरी रहेको प्रहरीले जनाएको छ । मुख्य योजनाकार राजकुमारलाई प्रहरीले धनगढीबाटै पक्राउ गरेको जनाएको छ । मुख्य योजनाकार राजकुमारबाट प्रहरीले तीन लाख ६३ हजार रुपैयाँसमेत बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार घटनाको योजना बनाउने तथा हतियार र मोटरसाइकल व्यवस्था गर्ने पनि राजकुमार नै हुन् । उनी २०६५ सालमा हातहतियार खरखजाना मुद्दामा ७५ दिनसम्म कैलाली कारागार कैद बसेका थिए ।
घटनामा गोली हान्ने कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय उग्रसेन रानालाई पनि प्रहरीले उनकै गाउँबाट पक्राउ गरेको जनाएको छ । उनले आफैंले मोटरसाइकल चलाएको र गोली हानेको प्रहरीलाई बयान दिएका छन् ।
प्रहरीले उग्रसेनको साथबाट पेस्तोल, मोटरसाइकल र एक लाख ९० हजार रुपैयाँ बरामद गरेको जनाएको छ । उनी हातहतियार खरखजाना तथा विभिन्न चोरीका मुद्दामा चार वर्ष कञ्चनपुर कारागारमा सजाया भोगेर २०७१ सालमा छुटेका थिए ।
कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय कल्लु राना मोटरसाइकलको पछाडि बसेर रकमको झोला लुट्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीले कल्लुबाट १५ हजार ६ सय रुपैयाँ बरामद गरेको छ । कल्लु जबर्जस्ती करणी मुद्दामा छ वर्ष कारागार सजाय भोगेर गत वर्ष माघमा रिहा भएका थिए ।
प्रहरीले सो घटनामा सहयोगीका रूपमा रहेका अन्य दुई जना पनि नियन्त्रणमा लिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का २८ वर्षीय रामप्रवेश राना तथा वडा नम्बर ६ का १८ वर्षीय बिरु चौधरी घटनाको सहयोगीका रूपमा पक्राउ परेका थिए ।
घटनाका मुख्य योजनाकार राजकुमारले आर्थिक कारोबार भइरहने आईएमई सेन्टरबाट पैसा लुट्न सकिन्छ भनेर केही दिनदेखि त्यो क्षेत्रलाई ‘रेकी’ गरेको प्रहरीले जनाएको छ । मुख्य योजनाकार राजकुमारले गोली हान्ने उग्रसेन र मोटरसाइकलको पछाडि बसेर पैसाको झोला बोक्ने कल्लुलाई २/३ दिनदेखि आईएमईमा कसले कुन बैंकबाट पैसा ल्याउने–लैजाने गर्छ भनेर गतिबिधि बुझ्न लगाएको अनुसन्धानबाट खुलेको छ ।
आईएमई सेन्टरमा कार्यरत कार्कीले नै बैंकबाट पैसा ल्याउने र लैजाने गरेको यकिन गरेपछि बैंकबाट निस्किएलगत्तै सडकमा गोली हानिएको हो । योजनाकार राजकुमार र अन्य संलग्नहरूको यसअघि कारागारमै भएको चिनजानका आधारमा उनीहरूले संगठित अपराध गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ ।
घटनाको नौ दिनपछि संलग्न सबैलाई पक्राउ गर्न सफल भएको प्रहरीले त्यसमा प्रयोग गरिएको मोटरसाइकलको नम्बर नक्कली भएकाले सत्यतथ्य बाहिर ल्याउन केही ढिलो भएको जनाएको छ ।
मोटरसाइकलको नक्कली स्टिकर प्रयोग गरेर नम्बर लेखिएको र पछि उक्त स्टिकर हटाएर प्रयोग गरेको संघीय प्रहरी एकाइ प्रमुख एसएसपी हरिराज बाग्लेले पत्रकार सम्मेलनमा बताए । मोटरसाइकलमा प्रयोग भएको नम्बर देशका कुनै पनि यातायात कार्यालयमा दर्ता नभएको र मोटरसाइकलसमेत चोरीको हुन सक्ने देखिएको छ ।
प्रहरीले मुख्य योजनाकार राजकुमारलाई नियन्त्रणमा लिएपछि विस्तारै अन्य संलग्नहरूलाई पक्राउ गर्न सफल भएको हो । उनीहरू लामो समयदेखि आपराधिक समूहमा आबद्ध भएको खुलेको छ ।
प्रहरीका अनुसार धनगढी चौराहनजिक घटना भएलगत्तै मोटरसाइकलमा सवार उग्रसेन र कल्लु दुवै चौराहबाट चटकपुर हुँदै पश्चिमतिरको बाटोबाट मोहना नदी तरी कञ्चनपुर पुगेका थिए । घटनाको समयमा मुख्य योजनाकार राजकुमार पनि त्यही सेरोफेरोमा रहेको र पछि सबैको भेट कञ्चनपुरको लालझाडी जंगलमा भएको अनुसन्धानबाट खुलेको छ । लुटिएको रकम उनीहरूले सोही जंगलमा लगेर बाँडेका थिए । त्यसमध्येको केही खर्च गरिसकेका छन् ।
प्रहरीलाई पक्राउ परेका व्यक्तिहरूविरुद्ध हातहतियार तथा खरखजना, ज्यान मार्ने उद्योग, जवरजस्ती चोरी अन्तर्गत घटनाको प्रकृति हेरी मुद्दा दायर भइसकेको जनाएको छ ।