६ माघ २०८१, आईतवार

समलिंगी विवाहलाई मान्यता दिन माग



धनगढी । तेस्रो लिंगीहरूले समलिंगी विवाहलाई कानुनी मान्यता दिनुपर्ने माग गरेका छन् । आइतबार धनगढीमा सरोकारवालाहरूसँग भएको जिल्ला स्तरीय छलफल कार्यक्रममा उनीहरूले समलिङ्गी विवाहलाई कानुनले सम्बोधन गरेमा समाजमा सहज अस्तित्व स्थापित गर्न सकिने बताए ।
प्रदेश तहमा बन्ने कानुनमै यौनिक अल्पसंख्यकको मागलाई सम्बोधन गराउन सरोकारवालाले सहयोग गर्नुपर्ने उनीहरूको माग छ ।
पाँच वर्षअघि सर्बोच्च अदालतबाट समलिंगी विवाहलाई मान्यता दिन आदेश आए पनि हालसम्म त्यसको कार्यान्वयन सुरु नभएको उनीहरूको गुनासो छ । ‘सर्बोच्चले फुकुवा गरिसक्यो । तर अझै पनि सरकारी निकायबाट समलिङ्गी विवाहले मान्यता पाउँदैन,’ निलहिरा समाजका सहजकर्ता अनुज पिटरले भने– ‘हामी पनि नेपाली हौं । हाम्रो मागप्रति सरकार किन गम्भिर हुँदैन ?’
समलिङ्गी विवाहले कानुनी मान्यता नपाउँदा समाजमा घुलमिल हुन र दैनिकी चलाउन पनि कठीन भएको निल हिरा समाज कैलालीका जिल्ला संयोजक राजु लामाले बताए ।
‘यौनिक अल्पसंख्यक भएपछि यसैपनि समाजमा मुख देखाएर हिड्न गाह्रो छ । त्यसमाथी विवाहले कानुनी मान्यता नपाउँदा धेरै जटिलता भोग्नुपरेको छ, उनले भने– ‘तत्कालै कानुनमा ब्यवस्था गरेर समलिङ्गी विवाहलाई फुकुवा गरिदिनुपर्‍यो । हामीलाई जीवन विताउन र केही गर्ने शाहस आउँछ ।’
विवाहलाई मान्यता नदिँदा यौन क्रियाकलापलाई बढवा दिईएको र यसले एचआईभी एड्स जस्ता रोगको चुनौति बढ्ने उनीहरूको अनुभव छ । ‘समाजले हामीलाई यौनकर्मी भनेरै पहिचान दिन्छ । केही ब्यक्तिहरूका कारण सबैले एउटै दर्जामा बस्नुपरेको छ, उनीहरू भन्छन्–विवाहको बाटो खोलिदिए यस्ता आरोप आँफै हराउँछन् । जथाभावी सेक्समा सामेल हुँदा डरलाग्दा रोगको सिकार हुनुपर्ने बाध्यता आउन सक्छ ।’
जिल्ला संयोजक लामाका अनुसार कैलालीमा समलिङ्गीहरूको संख्या धेरै भएपनि समाजको डरले लुकेरै बसेका छन् । नेपालमा कुल जनसंख्याको आठ देखि १० प्रतिशत यौनिक अल्पसंख्यकहरू रहेका छन् ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशिला मिश्र भट्टले समाजभित्रै अल्पसंख्यकलाई सम्मान मिल्ने वातावरण सृजना गर्न जनचेतनामुलक कार्यक्रमलाई सञ्चालन गर्न जरुरी रहेको बताईन् । उनले हरेक व्यक्तिले प्रकृतिले दिएको उपहारलाई स्विकार्नुपर्ने बताईन् ।
कार्यक्रममा सहभागिहरूले समलिंगी विवाहलाई कानुनी मान्यता दिए समाजमा महिला हिंसा न्यूनीकरण, जनसंख्या बृद्धिदरमा सुधार हुने, सडकका बालबालिकाको उद्दार हुने लगायतका टिप्पणी गरेका थिए ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी प्रमुख सन्ध्या राजेश्वरी सिंह, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत योगेन्द्र ओझा, जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाई, जिल्ला प्रहरी कार्यालय कैलाली महिला सेल ईन्चार्ज राजमती विष्ट, संघ/संस्थाका पदाधिकारी, समलिंगी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार