१२ श्रावण २०८१, शनिबार

सधैं हिलाम्य सडक



सुखड । यो कैलालीको घोडाघोडी नगरपालिकाको मुख्य बजार क्षेत्र सुखड बजारको हो । नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापा दिनहुँ यही हिलाम्य सडकबाट ओहोरदोहोर गर्छिन् ।
यो सडक वर्षायाममा मात्रै नभएर बाह्रमास हिलाम्य हुने गरेको छ ।
मुख्य बजार क्षेत्र मात्रै होइन, दोस्रो गल्लीदेखि बंगाली डाक्टरको घरसम्म जाने बाटोको अवस्था पनि यस्तै छ । यो सडकमा आवातजावत गर्ने जोकोहीले पनि सधैं वर्षायामको अनुभव गर्दछन् । हिलाम्य सडकमा थुप्रिएको फोहोरले वातावरण निकै दूर्गन्धित बनाएको छ । “हामीलाई त निकै गाह्रो परेको छ” स्थानीय जनिता पौडेल भन्छिन्– “जनप्रतिनिधि आएपछि केही राम्रो होला सोचेका थियौ, तर सबै उस्तै रहेछन् ।”
गत वर्ष चुनावताका प्राय: सबै उम्मेदवारले सो सडक बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । नगर प्रमुख ममताप्रसाद चौधरी र वडा नम्बर १ का अध्यक्ष मनराज शाहीले चुनावताका ती सडकको स्तरोन्नती गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । ‘हामीलाई जनप्रतिनिधिले ढाटे’ स्थानीय तुल्सीराम सुवेदी भन्छन् ।
सधैं हिलाम्य हुने गरेका कारण सो बाटो प्रयोग गर्ने विद्यार्थी तथा सर्वसाधारणले सास्ती भोगिरहेका छन् । हिलो र फोहोरमैलाका कारण व्यापारसमेत प्रभावित हुने गरेको व्यापारी राम सुनार बताउँछन् ।
वडा नम्बर १ का अध्यक्ष शाहीले आफूले बारम्बार यी सडकलाई नगर स्तरीय योजनामा पार्नुपर्ने अडान राखेको बताए । “तर, नगर प्रमुख लगायतले मापदण्ड विपरीत भएकाले काम गर्न नसकिने भनेर इन्कार गर्ने गरेका छन्” उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार