प्रदेश सभा : बल्ल संसदीय दलहरूका कार्यालय कक्षको व्यवस्था
धनगढी । सात नम्बर प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका लागि कार्यालय कक्षको बल्ल टुंगो लागेको छ ।
प्रदेश सभा (संसद) को सँगै रहेको साविकको कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयको भवनमा संसदीय दलहरूका कार्यालय रहने जनाइएको छ ।
प्रदेश सभा (संसद) सचिवालयका अनुसार नेपाल कम्युनिस्ट पार्टी (अन्डरलाइन) का लागि जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासकको कक्ष, नेपाली काँग्रेसका लागि कार्यालयको तथ्यांक शाखा र रााष्ट्रिय जनता पार्टीको संसदीय दलका लागि जनस्वास्थ्य निरीक्षकको कार्यकक्षमा कार्यालय रहने व्यवस्था गरिएको छ ।
प्रदेश सभामुखको कार्यालयमा शुक्रबार बसेको सबै संसदीय दलको नेताहरूको बैठकले जिल्ला जनस्वास्थ्य कार्यालय भवन खाली भएकाले सोही स्थान उपयुक्त हुने निर्णय गरेको प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले बताए ।
संसदीय दलको नेताको कार्यालयका लागि भवनको व्यवस्था भए पनि अझैं दलका सचेतकका लागि भवनको व्यवस्था हुन सकेको छैन ।
प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (अन्डरलाइन), नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको प्रतिनिधित्व रहेको छ ।
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकीकरण भएर नेपाल कम्यूनिष्ट पार्टी (अन्डरलाईन) बने पनि संसदीय दलको नेताको टुङ्गो लागेको छैन ।
संसदीय समितिको कार्यालय, समितिका सभापतिको कार्यालय, प्रमुख प्रतिपक्षी दलको नेता तथा सत्तापक्ष दलको नेताको कार्यालय पनि सामान्यतया संसद् भवनसँगै रहन्छन् । यी सबै कार्यालयको व्यवस्थापन सरकारले गर्नुपर्ने हुन्छ ।
प्रदेशसभामा मिनी संसद मानिने चारवटा विषयगत समिति छन् । संसदीय दल, समिति, समितिका सभापति, सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका नेताको कार्यालयको व्यवस्था गरिनुपर्ने हुन्छ ।
समितिका कार्यालय राख्न भवन खोज्नका लागि कार्यदल गठन भएको छ । उपसभामुख निर्मला बडालको संयोजकत्वमा संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहेको कार्यदलले कार्यालय राख्न उपयुक्त धनगढीमा रहेका सरकारी संरचनाको खोजी गरिरहेको संसद सचिवालयका सचिव शर्माले बताए ।
यसअघि कार्यालय नहुँदा संसदीय दलका नेताहरूले संसद शुरु हुनु अघि र बीचमा स्थगित भएको समयमा रुखको छहारीमुनी र नजिकको होटलमा गएर बस्नुपर्ने बाँध्यता थियो ।