फेकोफन कैलालीमा विवाद चर्कियो
धनगढी । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन), कैलालीमा पदाधिकारी चयनको विवाद झन् चर्किएको छ ।
बुधबार एकल निर्णयमा अध्यक्षसहित कार्यसमिति विस्तारको घोषणा गरेका कर्णबहादुर रावल समूहले बिहीबार महासंघको कार्यालयमा तालाबन्दी गरेको छ । रावल समूहले आफूहरू निर्विरोध चयन भएको भन्दै कार्यालयमा तालाबन्दी गरेको जनाएका छन् ।
रावल नेतृत्वको प्यानलले फेकोफन कैलालीको वर्तमान कार्यसमितिले आफूहरूलाई कार्यालयको चावी हस्तान्तरण नगरेको भन्दै आफैले ताला खरिद गरेर कार्यालयमा ताला लगाएको बताएका छन् । बिहीबार कार्यालयमा पुगेका वर्तमान सचिव डण्डीराज सुवेदीले कार्यालयमा ताला लगाएको पाएपछि वकिलमार्फत कागजात गरेका छन् ।
उनले कार्यालयमा रहेका कम्प्यूटर, प्रिन्टर, कार्यालयको बैंकिङ चेक, आवश्यक कागजात, लगायतका सामग्रीहरू सुरक्षित रहुन भनेर वकिलसँग कागजात बनाइएको बताए ।
गत मंगलबार राति निर्वाचन हुन नसकेपछि र रजिष्ट्रर गायव भएपछि बुधबार निर्वाचन समितिले अधिवेशन स्थगित भएको घोषणा गरेको थियो ।
मंगलबार उद्घाटन सत्रको समापनपछि पदाधिकारी छनौटका लागि बसेको बन्द सत्रमा आपसी विवाद हुँदा निर्वाचन स्थगित भएको निर्वाचन समितिले जनाएको छ ।
विवादबीच एक पक्षले महासंघको विधानअनुसार पदाधिकारी छनौट गर्नुपर्ने अडान लिएको थियो भने अर्को पक्षले गोप्य मतदानमा जान नचाहेको निर्वाचन समितिका संयोजक शेरबहादुर साउँदले बताए ।
निर्वाचन समितिले साुदायिक वन उपभोक्ता महासंघ, नेपालको विधान २०५२ पाँचौं संशोधन २०७३ सांगठिन नियमावलि २०५५ (संशोधित २०७४) अनुसार निर्वाचन गर्ने प्रक्रिया अघि बढाउँदा अध्यक्ष पदका उम्मेदवार रावल पक्षले बन्द सत्रमा खुला मतदानबाट पदाधिकारी छनोट गरेको जनाइएको छ । महासंघमा अध्यक्ष पदका अर्का उम्मेदवार डण्डीराज सुवेदी पक्षले गोप्य मतदानको आधारमा निर्वाचन गर्नुपर्ने अडान राखेको थियो ।
वर्तमान सचिव सुवेदीले महासंघको विधानको परिच्छेद–७ को विविध व्यवस्थाको धारा ३६ को ‘घ’ अनुसार सबै तहका महासंघको अध्यक्ष पदको उम्मेदवार हुनका लागि सम्बन्धित महासंघको कार्यसमितिको पदाधिकारी रहेर एक कार्यकाल सक्रियरूपमा काम गरी अनुभव प्राप्त गरेको व्यक्ति हुनुपर्ने उल्लेख गरे । उनले भने रावलसँग जिल्ला कार्यसमितिमा एक कार्यकाल काम गरेको अनुभव छैन ।