सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण शुरु
चौमाला । कैलालीको गौरीगंगा नगरपालिकाको चौमाला र मसुरियामा बिहीबारदेखि सुरक्षित आप्रवासनसम्बन्धी अभिमुखीकरण शुरु भएको छ । गौरीगंगा नगरपालिकाको आयोजनामा सो अभिमुखीकरण शुरु भएको जनाइएको छ ।
वैदेशिक रोजगारमा जाने तयारीमा रहेका, रोजगारमा गएका व्यक्तिका परिवार र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको सहभागितामा अभिमुखीकरण भइरहेको छ ।
अभिमुखीकरणमा नगरपालिकाका ११ वटै वडाबाट दुई सय जना सहभागी रहेको सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको सञ्चार प्रतिष्ठान नेपाल, कैलालीले जनाएको छ ।
गौरीगंगा नगरपालिका वडा नम्बर २, ३ र ६ का सहभागीलाई चौमालामा र वडा नम्बर ५, ७ र ८ का सहभागीलाई मसुरियामा अभिमुखीकरण गरिएको थियो । आज (शुक्रबार) वडा नम्बर १ र ४ का सहभागीलाई चौमालामा र वडा नम्बर ९, १० र ११ का सहभागीलाई मसुरियामा आयोजना गरिने नगरपालिकाका नायवसुब्बा खेमराज भट्टले बताए ।
अभिमुखीकरणमा वैदेशिक रोजगारको अवस्था, समस्या र चूनौति तथा अवसर र फाइदाको बारेमा चर्चा गरिनुका साथै सहभागीबाट समस्या तथा चूनौतिको समाधान गर्ने उपायबारे छलफल भएको थियो ।
त्यस्तै, वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धीमूलक बनाउनका लागि स्थानीयस्तरबाट गर्न सकिने प्रयास र सरकारले गरेको प्रयासको बारे पनि छलफल भएको थियो । अभिमुखीकरण कार्यक्रमका सहभागीलाई सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रले गर्ने काम र फ्रि भिसा फ्रि टिकट कार्यान्वयनका लागि गर्न सकिने बार्गेनिङबारे जानकारी दिइएको थियो ।
कार्यक्रममा सञ्चार प्रतिष्ठान नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाका कार्यक्रम संयोजक एकीकन्द्र तिमिल्सिना, कार्यक्रम अधिकृत कृष्णबहादुर विक र सामाजिक परिचालकहरू शान्ति भाट र मुकेश चौधरीले प्रशिक्षण दिएका थिए ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र कैलालीका उपाध्यक्ष चन्द्रप्रसाद कँडेलले आप्रवासी कामदार र उनीहरूका परिवारलाई वैदेशिक रोजगार सुरक्षित र उपलब्धीमूलक बनाउन सरकारलाई दवाव दिन संगठित हुनपर्ने विषयमा प्रशिक्षण दिएका थिए ।
चौमालामा आयोजित कार्यक्रमको अध्यक्षता गर्दै गौरीगंगा नगरपालिकाका उपमेयर अञ्चला चौधरीले वैदेशिक रोजगारमा जाने व्यक्तिहरूले सीप नसिकेका कारण विदेशमा दु:ख पाइरहेको चर्चा गरिन् ।
उनले नीति बनाएर गौरीगंगा नगरपालिकाले वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता हटाउन स्वरोजगारका कार्यक्रम ल्याउने बताइन् ।
कार्यक्रममा स्वागत गर्दै गौरीगंगा नगरपालिकाका कार्यकारी अधिकृत वीरबहादुर शाहीले बैदेशिक रोजगारमा जाने युवाहरूको आवश्यकतालाई महसुस गरेर सुरक्षित आप्रवासन सम्बन्धी तालिमका लागि बजेट छुट्याएको बताए । उनले आगामी दिनहरूमा पनि गौरीगंगा नगरपालिकाले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन कार्यक्रम ल्याउने बताए ।