६ माघ २०८१, आईतवार

बालविवाह अन्त्यका लागि नीतिगत संवाद



धनगढी । संस्कृति र सामाजिक परम्पराका नाममा हुने विकृति रोक्न सके बालविवाहको दर कम हुन सक्ने विश्वास गरिएको छ ।
वालविवाह अन्त्यका लागि बुधबार धनगढीमा आयोजित प्रदेश स्तरीय नीतिगत संवाद कार्यक्रममा सहभागीहरूले कुनै पनि किसिमका गलत संस्कार तथा परम्पराको अन्त्य अनिवार्य रहेको चर्चा गरे ।
कार्यक्रममा प्रदेश सातका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले अहिले पनि नेपाली समाजमा छोरीका सन्दर्भमा विद्यमान गलत सोच तथा धारणाले बालविवाह यथावत रहेको बाए ।
उनले भने– “पहाडतिर जबरजस्ती (तानेर) विवाह, रजस्वला नहुँदै छोरीको कन्यादान दिनुपर्छ भन्ने सोचाई, तराईमा रानाथारू समुदायमा नजन्मिदै हुने मगनी प्रथा जस्ता गलत सामाजिक, सांस्कृतिक प्रचलनले पनि बाल विवाह यथावत रहेको अवस्था छ ।”
कार्यक्रममा प्रदेश सभा सदस्यहरू पूर्णा जोशी, हर्कबहादुर कुँवर (गोविन्द), दुर्गा विक लगायतले प्रविधिको दुरुपयोग तथा स्कुलमा यौन र प्रजनन् स्वास्थ्यबारे राम्ररी बुझ्ने गरेर पढाई नहुनुले पनि वालविवाहका घटनामा कमी आउन नसकेको चर्चा गरे ।
धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले बालविवाहको गलत सामाजिक, सांस्कृतिक परम्पराको अन्त्यका लागि विद्यमान ऐन कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिइन् । उनले बालविवाहका दुस्परिणामबारे व्यक्ति, परिवार र समाजमा व्यापक जागरण ल्याउनुपर्ने बताइन् ।
कार्यक्रममा सानै उमेरमा भएका विवाहका कारण सिर्जना भएका सम्वन्ध विच्छेद, घरेलु हिंसा, शारीरिक, मानसिक जोखिम लगायतका समस्याबारे चर्चा भएको थियो । कार्यक्रमका सहभागीहरूले वालवालिकाले अञ्जानमा विहे गरे बाबुआमा छोरीलाई घर फिर्ता ल्याउने चाहने, तर समाजले भागेकी छोरीलाई घर ल्यायो भनेर हेप्ने मानसिकताले पनि समस्या बढाएको अनुभव सुनाएका थिए ।
कार्यक्रमको आयोजक संस्था सिविन नेपालका क्षेत्रीय संयोजक माधव लोहनीले बालविवाह सम्बन्धी एक अध्ययन प्रस्तुत गरेका थिए ।
अध्ययन प्रतिवेदनमाथि जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रकाशबहादुर भण्डारी, नेपाल बार एसोसियसन कैलालीका अध्यक्ष प्रेम चन्द, प्रहरी नायव उपरिक्षक हरिबहादुर ओली, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ७ का अध्यक्ष अर्जुन शाह, जिल्ला महिला विकास कार्यालयका प्रमुख सन्ध्या राजेश्वरी सिंह, दलित महिला अधिकार मञ्चका निर्देशक सावित्री घिमिरे लगायतले टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार