११ श्रावण २०८१, शुक्रबार

जेष्ठ नागरिक हेरचारबारे छलफल



धनगढी । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा रोटरी क्लब अफ धनगढीको समन्वयमा धनगढीमा मंगलबार बृद्धाश्रम/जेष्ठ नागरिक हेरचाह केन्द्र अध्ययन/सर्वेक्षण विषयक छलफल कार्यक्रम भएको छ ।
कार्यक्रममा कैलाली र कञ्चनपुरका जेष्ठ नागरिकहरू आफ्नो स्याहारसुसार, स्वास्थ्योपचार, मनोरञ्जन लगायत सरकारद्वारा उचित वृद्धभत्ताको व्यवस्था उपलब्ध हुनुपर्नेमा जोड दिएका थिए ।
जेष्ठ नागरिक बहादुरसिंह विष्टले वृद्धाश्रममा दयनीय जीवन व्यतित गरिरहेका जेष्ठ नागरिकलाई सरकारबाट पाउने सेवासुविधा सर्वसुलभमा उपलब्ध हुनुपर्नेमा जोड दिए । कुलबहादुर हमाल सरकारबाट दिने जेष्ठ नागरिक प्रमाणपत्रका आधारमा जेष्ठ नागरिकलाई सबै सेवासुविधाको उचित व्यवस्थापन हुनुपर्ने बताए । उनले जेष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण फरक रहेकोले स्कूलको पाठ्यपुस्तकमा जेष्ठ नागरिकहरूको हेरचाहको विषयमा पठनपाठन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जेष्ठ नागरिक गंगाराम डंगौरा वृद्धाश्रममा भौतिक पूर्वाधार, मनोरञ्जनका साधन लगायत एकअर्कासँग सुखदु:खका भावना साटासाटको वातावरण हुनुपर्ने आवश्यक रहेको औंल्याए ।
कार्यक्रममा आयोगका क्षेत्रीय निर्देशक दीपकध्वजजंग कार्कीले स्थानीयतहदेखि जेष्ठ नागरिकको पहिचान गर्नुपर्ने बताए । उनले जेष्ठ नागरिकलाई सबै तहबाट सम्मान तथा उचित हेरचाह गर्न आग्रह गरे ।
कार्यक्रममा जेष्ठ नागरिक, वृद्धाश्रमका सञ्चालक, राजनीतिक दलका प्रतिनिधिलगायतको सभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार