११ श्रावण २०८१, शुक्रबार

११ औं गणतन्त्र दिवस मनाइयो



धनगढी । सात नम्बर प्रदेशसहित देशभरी मंगलबार ११ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा धनगढीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सभाहलमा शहिदहरूको तस्बिरमा मल्यार्पण गरियो ।
मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, सुरक्षा निकायका अधिकारी तथा सरकारी अधिकारीहरूले शहिदहरूको तस्बिरमा माल्यार्पण गरेका थिए ।
सो अवसरमा मुख्यमन्त्री त्रिलोचन भट्टले गणतन्त्र ल्याउनकै लागि हजारौं शहिदहरूले बलिदान दिएकाले औपचारिक दिवस मनाएर हैन जनताको मर्मलाई बुझ्दै प्रदेशलाई समृद्ध बनाउन लाग्नुपर्ने धारणा व्यक्त गरे ।
सभामुख अर्जुनबहादुर थापाले गणतन्त्र ल्याउनका लागि जनताले थुप्रै दु:ख भोग्नुपरेकाले अब ग्रामीण क्षेत्रबाट विकासको सुरुवात हुनुपर्ने बताए । तीनवटै तहका सरकार बन्नु गणतन्त्रकै उपलब्धी भएको भन्दै सभामुख थापाले बिगतमा जनताले पाएका दु:खको ब्याज सहित तिर्ने गरी जनप्रतिनिधिले काम गर्नुपर्ने बताए ।
कार्यक्रममा उपसभामुख निर्मला बडाल जोशी, सामाजिक विकास मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहरा, भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह वोहरा, भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी, सुरक्षा निकायका प्रमुख लगायत सरकारी कर्मचारीहरूको सहभागिता रहेको थियो ।
उता, डडेलधुरामा भने गणतन्त्र दिवसलाई फरक तरिकाबाट मनाइएको छ ।
दिवसको अवसरमा बजार सरसफाइ गर्न भन्दै अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझा, अन्य सरकारी अंगका प्रमुखहरू तथा युवाहरू बिहानै कुचो लिएर सडकमा निस्किएका थिए । कार्यक्रम युवाहरूको सञ्जाल ग्रीन अर्थ सोसाइटी नेपालले संयोजन गरेको हो ।
डडेलधुरा सदरमुकामअन्तर्गत बागबजार, बगरकोट रोड, तुफानडाँडा लगायतका बजार क्षेत्रमा सरसफाइ गरिएको छ ।
सरसफाइमा नगरपालिकाका कर्मचारी, ग्रीन अर्थ सोसाईटी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतको सहभागिता रहेको थियो ।

कैलाली कारागारबाट २७ जना कैदीबन्दी रिहा
गणतन्त्र दिवसको अवसर पारेर कैलाली कारागारबाट २७ जना कैदी रिहा भएका छन् । असल चालचलन भएका र ४० प्रतिशत कैद भुक्तान गरेका कैदीहरूलाई गणतन्त्र दिवसको अवसरमा रिहा गरिएको हो ।
रिहा भएका कैदीमध्ये सवैभन्दा वढी कर्तव्य ज्यान मुद्दाका रहेका छन् । विभिन्न चाडपर्व र दिवसको अवसर पारेर कैदी रिहा हुँदै आएका छन् । कारागार व्यवस्थापन विभागको पत्राचारअनुसार असल चालचलन भएका र ४० प्रतिशत कैद भुक्तान गरेका कैदीहरूलाई रिहा गरिएको जिल्ला कारागार कैलालीका जेलर भक्तबहादुर बिष्टले बताए ।
रिहा हुने कैदीहरूमा कैलालीका मंगरु डंगौरा चौधरी, बजिरसिहं खड्का, देशराज चौधरी, गिरिफे चौधरी, निशान जोशी, धनीराम चौधरी, स्यालु चौधरी, डम्मरराज पाण्डेय, पारस खत्री, सलारु चौधरी, चन्द्र चौधरी, जोखन चौधरी, रेशम शाह, शान्तिदेवी चौधरी, गुरुप्रसाद चौधरी, रामचरण चौधरी, अमर चौधरी र सरस्वती चौधरी रहेका छन् ।
डोटीका लोकबहादुर भुल, राजबहादुर सिहं, धनबहादुर साउँद, प्रकाश श्रेष्ट, कालु सार्की, हुम्लाका नरबहादुर जैशी र रोल्पाका रामकुमार दमाई तथा गजेन्द्र बिक पनि रिहा भएका छन् । जेलबाट मुक्त भएपछि गाउँमा गएर काम गर्ने रिहा भएकाहरूले बताए ।
गणतन्त्र दिवसको अवसर पारेर जिल्ला कारागार डडेल्धुराबाट पाँच जना कैदीलाई रिहा गरिएको छ । मन्त्रीपरिषद्को जेठ १३ गतेको निर्णयानुसार कैद भोगिरहेका पाँच जनालाई मंगलबार परेको ११ औं गणतन्त्र दिवसको अवसर पारेर रिहा गरिएको हो ।
कैद माफी हुनेहरूमो भागेश्वर गाउँपालिका ५ बगरकोटका लक्ष्मणबहादुर विष्ट, अमरगढी १० का शिद्धबहादुर साउँद, बझाङ रायल ८ का जगनेबहादुर खाती, परशुराम नगरापालिकाका अमरबहादुर विष्ट, कैलालीको लम्कीचुहा नगरपालिका ४ का प्रेमबहादुर बुढामगरलाई हिरा गरिएको जिल्ला कारागार डडेल्धुराका जेलर शिवराज भट्टले जानकारी दिए ।
उता, गणतन्त्र दिवसको अवसरमा बैतडी जिल्ला कारागारबाट आठ जना कैदीको कैद माफी गरिएको छ ।
कैद माफी हुनेहरूमा बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ३ श्रीकोटका महानन्द कपाडी, गणेश दत्त कपाडी, दोगडाकेदार ४ श्रीकेदारका रतन भण्डारी, पुर्चौडी नगरपालिका ८ का रमेश दमाई, पुरनबहादुर कुँवर र सिगास गाउँपालिका ढुंगाडका राजेन्द्रबहादुर धामी रहेका छन् ।
यस्तै, बैतडीको पुर्चौडी नगरपालिका ८ का कृष्णबहादुर धामी र मेलौली नगरपालिका सलेनाका खगेन्द्रराज पैतोला रहेका जेलर तिवारीले जानकारी दिएका छन् ।
त्यस्तै, अछाममा तीन जना कैदीको कैद मिनाहा गरेको छ । कैद मिनाह हुनेमा साँफेबगर नगरपालका–४ का प्रेमबहादुर बुढा, पञ्चदेवल विनायक नगरपालिका–४, कालिकास्थान यशोदा शाह र मंगलसेन नगरपालका–१, कुन्तिबण्डाली टेके कामी रहेको जिल्ला कारागार अछामले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार