छाउगोठमुक्त टोल घोषणा
लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ शान्तिटोललाई जिल्लाकै पहिलो छाउगोठमुक्त टोल घोषणा गरिएको छ ।
मंगलबार शान्तिटोलमा भएको एक कार्यक्रमबीच सो टोललाई छाउगोठमुक्त घोषणा गरियो ।
शान्तिटोलमा भएका ४८ घरधुरीमध्ये ३६ घरमा बनाइएका छाउपडी गोठ भत्काएर महिनावारी भएका महिला सबै आफ्नै घरमा बस्न थालेपछि टोललाई जिल्लाकै पहिलो छाउगोठ मुक्त टोल घोषणा गरिएको हरियो वन नेपाल कार्यक्रमका सामाजिक परिचालक ईन्द्रबहादुर कुँवरले जानकारी दिए ।
लामो समयको प्रयासपछि हरियो वन नेपालको सामुदायिक केन्द्रको पहल तथा चेतना सामुदायिक सिकाई तथा कार्यकेन्द्र शान्ति टोलको आयोजनामा टोललाई छाउगोठ मुक्त घोषणा गरिएको हो ।
व्यवस्थित नगरमा भएको कार्यक्रममा लम्कीचुहा नगरपालिकाका उपप्रमुख टिकादेवी थापा लगायतले सो टोललाई छाउगोठमुक्त टोल घोषणा गरे ।
कार्यक्रममा वडा अध्यक्षहरू भक्तबहादुर चलाउने, माया बिष्ट वडा सदस्य भीमा चौधरी, पत्रकार गणेश चौधरी, लम्कीचुहा नगरपालिका स्वास्थ्य संयोजक जयन्ती विसी, सेवक नेपालका प्रतिनिधि भागीरथी रेग्मी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन हरियो वन नेपाल कार्यक्रमका सामाजिक पचिालक ईन्द्रबहादुर कुँवरले गरेका थिए ।