आजदेखि अन्तरविद्यालय क्रिकेट प्रतियोगिता
धनगढी । धनगढीस्थित फाप्ला खेल मैदानमा आज (मंगलबार) देखि अन्तरविद्यालय क्रिकेट प्रतियोगिता–२०७५ शुरु हुँदै छ । प्रतियोगिता धनगढी क्रिकेट एकेडेमीको डीसीए कप अन्तर्गग भइरहेको छ ।
नकआउट प्रणालीमा २० ओभरको प्रतियोगितामा विजेताले ४० हजार नगद र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्राप्त गर्ने छ । त्यस्तै, एकेडेमीले प्रतियोगितामा म्यान अफ द सिरिजलाई एक वर्षसम्म मासिक शुल्कमा शतप्रतिशत छात्रबृति तथा म्यान आफ द फाइनल, वेष्ट व्याट्सम्यान, वेष्ट बदरलगायत पाँच जनालाई एक वर्षका लागि मासिक शुल्कमा ५० प्रतिशत छात्रबृति प्रदान गर्ने प्रतियोगिता संयोजक भरत जोशीले बताए ।
संयोजक जोशीका अनुसार १६ दिनसम्म चल्ने प्रतियोगितामा कैलालीको ३० टिम र कञ्चनपुरको एक टीम गरी ३१ टीमको सहभागिता रहने छ । उनले खेलको तयारी पूरा भइसकेको बताए ।
“विद्यालय स्तरदेखि नै क्रिकेटप्रतिको मोह बठाउन तथा सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्दैछौं,” संयोजक जोशीले भने, “एकेडेमीले निरन्तर क्रिकेट गतिविधिमा संलग्न भइरहनेछ ।”
आज हुने पहिलो खेलमा साविक विजेता ऐश्जर्य विद्या निकेतन र त्रिनगर माविबीच हुने छ ।
अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको यो चौथो संकरण हो ।