गोली प्रहार तथा लुटपाट घटना : विप्लवका दुई कार्यकर्ता पक्राउ
धनगढी । दिनदहाडै गोली प्रहार गरी साढे नौ लाख रुपैयाँ लुटेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बिक्रान्त भनिने कृष्ण देउवा र राजकुमार चौधरीलाई सोमबार पक्राउ गरिएको छ ।
आइतबार धनगढीमा भएको गोलीकाण्ड र रकम लुटपाटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जनाएको छ । उनीहरू दुबैलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।
कैलालीका अलग अलग स्थानबाट पक्राउ परेका बिप्लव कार्यकर्ता देउवा र चौधरी एउटै अपराधिक गिरोहमा संलग्न रहेको पनि प्रहरीको दावी छ । आईएमी सेन्टरमा कार्यरत कार्कीलाई हतियारको प्रयोग गरी गोली प्रहार भएको तर्फ प्रहरीले अनुसन्धान गरिरहेको छ । तर कैलालीका प्रहरी उपरिक्षक बिनोद घिमिरेले विभिन्न व्यक्तिहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताउँदै आवश्यक अनुसन्धानपछि मात्रै घटनाको सत्यतथ्य सार्वजनिक गर्ने बताए ।
लुटेराको गोली लागि घाइते भएका निर्मल कार्कीकी श्रीमती शोभा मिटर ब्याजमा संलग्न भएकोले घटनाको अनुसन्धान मिटर ब्याज केन्द्रीत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटना भएलगत्तै ९ लाख रकम सहित पक्राउ परेका अत्तरियाका दुई जना युवालाई भने बोलाएको बेला उपस्थित हुने गरी आइतबार रातिनै रिहा गरिसकेको छ ।
सम्बन्धित समाचारहरू