प्रधानमन्त्री कप क्रिकेट : एपिएफ र प्रदेश ७ को विजयी शुरुवात
धनगढी । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लव र प्रदेश नम्बर ७ ले विजयी सुरुवात गरेका छन् । एपिएफले प्रदेश नम्बर ४ लाई पाँच विकेटले पराजित गर्यो ।
प्रदेश नम्बर ४ ले दिएको दुई सय ४० रनको लक्ष्य एपिएफले पाँच विकेटको क्षतिमा ३७ औं ओभरमा पुरा गर्यो । एपिएफका रोहितकुमार पौडेलले नटआउट ७३ रन जोडे । उनले ४१ बलमा १० चौका र तीन छक्का प्रहार गरे । त्यस्तै पृथु बाँस्कोटाले ५३, ओपनर सुवास खकुरेलले ४८ रन तथा प्रदीप ऐरीले ३७ रन बनाए । बलिङतर्फ प्रदेश नम्बर ४ का विपिन क्षेत्री, मेख सेन, हरि चौहान, सन्तोष न्यौपाने र सुमान घिमिरेले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले नौ विकेट क्षतिमा दुई सय ३९ रन बनाएको थियो ।
चार नम्बर प्रदेशका विधान श्रेष्ठले ४३ र हरि चौहानले ५७ रन बनाए । बलिङमा एपिएफका कमलसिंह ऐरीले तीन र अमरसिंह रटेउलाले दुई विकेट लिए ।
आइतबार नै भएको अर्को खेलमा प्रदेश ७ ले कर्णाली प्रदेशलाई ४८ रनले हरायो । प्रदेश ७ ले दिएको एक सय २६ रनको लक्ष्य पछ्याएको कर्णालीले २३ औं ओभरमा ७७ रनमा अलआउट भयो ।
कर्णालीका रवीन्द्र शाहीले २९ र दिवन पुनले १३ रन जोडेका थिए । बलिङमा प्रदेश ७ का शेर मल्लले ५ विकेट लिए । भने विनोद लामा र सन्तोष भट्टले २–२ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ७ ले ३२ औं ओभरमा एक सय २५ रन बनायो ।
सात नम्बर प्रदेशका सञ्जु धामीले ५४ र सुरेन्द्र चन्दले २५ रन जोडे । बलिङमा कर्णालीका टेक सलामीले ५ विकेट लिए भने दिनेश पुनले २ विकेट हात पारे ।