वडाध्यक्षको ठाडो आदेशमा काटिएका रुख वन कार्यालयमा



धनगढी । धनगढी उपमहानगरपालिकाको वडा नम्वर ६ का वडाध्यक्षको ठाडो निर्देशनमा काटिएका काँचो सालको रुखका गोलिया इलाका वन कार्यालय, धनगढीले घाटगद्दी गरेको छ ।
उपमहानगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष भागिराम चौधरीले सडक निर्माणका क्रममा बीचमा परेको सालको रुख काट्न आदेश दिएको बताइएको छ । रुख काटेर वडा नम्बर ६ को विजुलियामा लुकाईछिपाई राखेको काँचो सालका चार वटा गोलिया इलाका वन कार्यालय, धनगढीको टोलीले बरामद गरेको थियो ।

फाइल तस्बिर

आइतबार ईलाका वन कार्यालयका अधिकृत भरत शाह नेतृत्वको टोलीले सो गोलिया बरामद गरी घाटगद्दी गरेको जनाइएको छ ।
स्रोतका अनुसार वडाध्यक्ष चौधरीले विजुलीयामा सडक निर्माणका क्रममा बीच भागमा रुख परेपछि स्थानीयलाई काट्न आदेश दिएका थिए ।
गाउलेलाई काट्न लगाएर विभिन्न स्थानमा लुकाइएका काठका गोलिया शनिबार ईलाका वन कार्यालयको टोलीले बरामदपछि मुचुल्का गरी स्थानीय जाली सामुदायिक वनको जिम्मा छोडेको ईलाका वन कार्यालय धनगढीका अधिकृत शाहले जानकारी दिए ।
अधिकृश शाहले जिल्ला वन कार्यालयबाट थप अनुसन्धानका लागि निर्देशन आएको बताए । उनले अवैध रूपमा रुख काटिएकोबारे थप अनुसन्धान गर्न शंकास्पद व्यक्तिहरूलाई पत्र पठाइएको बताए ।
सघन शहरी विकास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको सो सडक खण्डमा परेका रुख कानुनी प्रक्रिया पुर्‍याएर काटिनुपर्नेमा वडाध्यक्षको संरक्षण र निर्देशनमा गोप्य तथा अवैध रूपमा रुख काटिएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्