१२ श्रावण २०८१, शनिबार

जग्गा कारोबारमा उल्लेख्य बृद्धि



धनगढी । पछिल्ला तीन वर्षको अवधिमा कैलालीमा जग्गा जमिनको कारोबारमा उल्लेख्य बृद्धि आएको छ । यो अवधिमा विगतको तुलनामा कैलालीमा जग्गाजमिनको कारोबार ७५ प्रतिशतले बृद्धि भएको जनाइएको छ ।
पहाडी जिल्ला तथा अन्य जिल्लाबाट बसाईसराई गरेर आउनेहरूको संख्यामा बृद्धिसँगै जग्गाको कारोबारमा पनि बृद्धि भएको हो ।
आर्थिक वर्ष २०७२/०७३ मा कैलालीमा जग्गाको कारोबारको तुलनामा चालू आर्थिक वर्षको चैत मसान्तसम्म ७५ प्रतिशतले कारोबार बढेको जिल्ला मालपोत कार्यालय, कैलालीको तथ्यांकमा उल्लेख छ । मालपोत कार्यालय, कैलालीका मालपोत अधिकृत मनोहर श्रेष्ठका अनुसार चालू आर्थिक वर्ष २०७४/०७५ को चैत मसान्तसम्म जग्गा खरिदबिक्रीमा ३३ करोड ६८ लाख ६१ हजार आठ सय ९७ रुपैयाँ राजश्व संकलन भएको छ ।
मालपोत अधिकृत श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा कैलालीमा जग्गा जमिनको कारोबारबाट १९ करोड २९ लाख ४६ हजार पाँच सय ४४ रुपैयाँ राजश्व संकलन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा जग्गा कारोबारबाट २७ करोड ७४ लाख एक हजार पाँच सय १० रुपैयाँ राजश्व संकलन भएको थियो ।
मालपोत कार्यालयका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म ११ हजार सात सय ५९ जनाले जग्गाको खरिदबिक्री गरेका छन् ।
त्यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा कैलालीमा १४ हजार तीन सय ८४ जनाले जग्गाको कारोवार गरेका थिए । भने आर्थिक वर्ष २०७३/०७४ मा १४ हजार एक सय १२ जनाले जग्गाको कारोबार गरेका थिए । मालपोत अधिकृत श्रेष्ठले तीन वर्षको अवधिमा जग्गाको कारोबार गर्ने व्यक्तिको संख्यामा केही कमी आए पनि राजश्वमा भने उल्लेख्य बृद्धि आएको छ ।
त्यस्तै, महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा बृद्धबृद्धाका नाममा जमिन पास गर्नेहरूको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । सरकारले महिला, दलित, अपांगता भएका व्यक्ति तथा बृद्धबृद्धाका नाममा जग्गाको स्वामित्व कायम गर्दा (जग्गा पास गर्दा) लाग्ने राजश्वमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार