सामुदायिक मेलमिलापसम्बन्धी आधारभूत तालिम
धनगढी । धनगढीमा बिहीबारदेखि सामुदायिक मेलमिलाप सम्बन्धी आधारभूत तालिम शुरु भएको छ । प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालको आयोजनामा घोडाघोडी नगरपालिकाका भलमन्साहरूका लागि सो तालिम आयोजना गरिएको जनाइएको छ ।
तालिमको एक समारोहबीच जिल्ला समन्वय समिति, कैलालीका प्रमुख सूर्यबहादुर थापाले उद्घाटन गरे ।
सो अवसरमा घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले सानातिना कुराबाटै ठूला दुर्घटना हुने गरेको चर्चा गर्दै सबै कुराको समाधान मेलमिलाप नै भएको बताए ।
नगरपालिका उपप्रमुख प्रेमकुमारी थापाले जघन्य अपराधमा कुनै पनि मिलापत्र गर्न नहुने बताईन् । कार्यक्रम केन्द्रका अध्यक्ष बल्लु चौधरीको अध्यक्षतामा भएको थियो ।
तालिममा घोडाघोडी नगरपालिकाका ३६ जना भलमन्साको सहभागिता रहेको थियो ।
त्यस्तै, कैलालीको जानकी गाउँपालिकामा स्थानीय बडघर तथा भल्मन्साहरूका लागि न्यायिक तथा मेलमिलाप सहजीकरण सम्बन्धि तालिम बिहीबारदेखि शुरु भएको छ ।
जानकी गाउँपालिकाको न्यायिक समितिको आयोजनामा भएको तालिमको गाउँपालिका अध्यक्ष प्रदिप कुमार चौधरीले उद्घाटन गरे ।
सो अवसरमा अध्यक्ष चौधरीले परापुर्वकालदेखि प्रचलनमा रहेका सामाजिक प्रथालाई जीवन्त राख्नको लागि तालिम सञ्चालन गरिएको बताए । उनले स्थानीय तहमा जनताको समस्या समाधान गर्न बडघरको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै तालिम पश्चात स्थानीय स्तरमा विवाद समाधान गर्न सहज हुने बताए ।
कार्यक्रम न्यायिक समिति संयोजक तथा उपाध्यक्ष उमा महतोको अध्यक्षतामा भएको थियो । उपाध्यक्ष महतोले जानकी गाउँपालिकामा हालसम्म ३६ वटा देवानी प्रकृतिका विवाद दर्ता भएकोमा १२ वटा विवाद मेलमिलाप प्रकृयाद्वारा समाधान गरिएको बताइन् ।
गाउँपालिकाका वडा नम्बर १, ३, ४ र ७ वडाका बडघर भल्मन्सा, युवा महिलालाई समेटेर पहिलो चरणमा तालिम आयोजना भएको छ । दोस्रो चरणमा गाउँपालिकाका वडा नम्बर २, ५, ६, ८ र ९ वडाका बडघर भल्मन्सा, युवा, महिलालाई समेटेर सञ्चालन गर्ने जनाइएको छ ।
तीन दिनसम्म सञ्चालन हुने तालिमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचीकृत प्रमुख प्रशिक्षक नारायण भट्टराई, अधिवक्ता जोहारीलाल चौधरी, परशुराम महतो र दिनेश थारूले सहजीकरण गरिरहेका छन् ।