गृहमन्त्री थापा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता



धनगढी । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा र प्रदेश नम्बर सात का मुख्यमन्त्री त्रिलोचन भट्टबीच आज बिहान भेटवार्ता भएको छ ।
मुख्यमन्त्री निवासमा बिहान गृहमन्त्री थापा र मुख्यमन्त्री भट्टबीच भएको भेटवार्तामा द्विपक्षीय हितकाबारेमा छलफल भएको छ ।
छलफल कार्यक्रममा प्रदेश सरकारको सुरक्षा अवस्था, सीमा सुरक्षा, दार्चुलाको तिंकरस्थित त्रिदेशिय नाकामा १२ महिनै सुरक्षा पोष्ट राख्नुपर्ने तथा केन्द्र सरकार र प्रदेश सरकारबीचको आवश्यक समन्वयका बारेमा छलफल भएको छ । तिंकर नाकामा ६ महिना मात्र सुरक्षापोष्ट राख्ने गरिएको छ । प्रदेशको भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षा चेकपोष्ट राख्ने विषयमा समेत छलफल भएको छ ।
छलफलमा गृहमन्त्री थापाले सुरक्षा अवस्था सम्बन्धका साथै सीमा क्षेत्र र तिंकर नाकामा सुरक्षा पोष्ट राख्ने विषयमा सकारात्मक प्रतिक्रिया दिएका थिए ।
प्रदेश नम्बर सातको अस्थायी मुकाम धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि गृहमन्त्री थापा मंगलबार धनगढी पुगेका हुन् ।
सुरक्षा गोष्ठीमा प्रदेश नम्बर सातका आन्तरिक मामिलामन्त्री प्रकाशबहादुर शाह, प्रदेश सरकारका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ ।
प्रदेशको सुरक्षा अवस्था थप मजबुत पार्ने उद्देश्यले प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिएको गृहमन्त्री थापका प्रेस संयोजक किरण भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्