अन्तरविद्यालय क्रिकेट : भोलिदेखि क्वाटरफाइनल
धनगढी । धनगढीमा जारी अन्तरविद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत भोलिदेखि क्वाटरफाईनले खेल शुरु हुने छन् ।
जिल्ला क्रिकेट संघ कैलालीको आयोजनमा भइरहेको प्रतियोगिताको सोमबार भएको खेलमा शारदा उच्च माध्यामिक विद्यालय र ऐश्वर्य विद्या निकेतन विजयी भए ।
सोमबारको पहिलो खेलमा शारदा उच्च माध्यामिक विद्यालयले एक्सिस विद्याश्रमलाई तीन पराजित गर्यो ।
टस हारेर ब्याटिङ गर्न निम्त्याइएको एक्सिसले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १५ रन बनायो । एक्सिसका कवीन्द्र शाहले ३२, सुजल रावलले २५ र वरुण ढाटले १७ रन बनाए । बलिङतर्फ शारदाका योगेन्द्र साउँद र विनोद ठगुन्नाले दुई/दुई विकेट लिए ।
एक सय १६ रनको लक्ष्य पाएको शारदाले १७ ओभरमा पाँच बलमा सात विकेट गुमाएर खेल जित्यो ।
शारदाका करन भट्टराईले २१, शौरभ अछामीले २०, गौरव कार्कीले १६ र रमेश विष्टले १० रन बनाए ।
बलिङतर्फ एक्सिसका कवीन्द्र शाह, सुजल रावल र राकेश विष्टले दुई/दुई विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच शारदा उमाविका करन भट्टराई बने ।
दोस्रो खेलमा ऐश्वर्यले शारदा विद्या निकेतनलाई पाँच विकेटले पराजित गर्यो ।
टस जितेर व्याटिंग रोजेको शारदाले १४ ओभर पाँच बलमा ५५ रनमा अल आउट भयो । । शारदाका सास्वत पन्तले ११ रन बनाए ।
प्रतिउत्तरमा ऐश्वर्यले आठौं ओभरमा पाँच विकेट गुमाएर ५७ रन बनायो । ऐश्वर्यका वीरेन्द्र महरले १९ रन बनाए । सो खेलको म्यान अफ द म्याच ऐश्वर्यका लोकेश हमाल बने ।