११ श्रावण २०८१, शुक्रबार

स्वास्थ्य सरकारको प्राथमिकता– मन्त्री सोडारी



धनगढी । प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले सरकारले स्वास्थ्यलाई प्राथमिकता राखेर काम गरिरहेको बताएका छन् ।
‘स्वास्थ्य महत्त्वपूर्ण र संवेदनशील विषय हो’ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सोमबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय गोष्ठीको उद्घाटन गर्दै मन्त्री सोडारीले भने– “प्रदेश सरकारले महामारीका रूपमा रहेका रोगहरूको नियन्त्रण तथा राष्ट्रले स्वास्थ्य सुधारमा लिएका नीति तथा लक्ष्यलाई सफल पार्न प्राथमिकताका साथ काम गर्ने छ ।” उनले प्रदेशमा स्वास्थ्यका कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेशमा विभाग बनाएर अघि बढ्ने बताए ।
ठूला भवन अथवा चौडा र चिल्ला सडकमात्र विकास नभएको चर्चा गर्दै मन्त्री सोडारीले मान्छेलाई स्वस्थ भएर बाँच्न पाउने वातावरण बनाउनु विकासको प्राथमिकता हुनुपर्ने बताए ।
उनले सात नम्बर प्रदेशमा कुनैवेला एचआईभी एड्सको निकै प्रकोप रहेको स्मरण गरे । उनले भने– “स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीहरूको पहलमा अहिले यसमा निकै सुधार आएको छ ।” उनले सात नम्बर प्रदेशका विभिन्न जिल्लाबाट भारतका विभिन्न शहरमा रोजगारी गर्न जाने र धेरैले उतैबाट एचआइभी संक्रमित भएर फर्किने क्रम अझैं जारी भएकाले सरकारले प्रभावकारी नीति बनाएर लागू गर्ने बताए ।
कार्यक्रम सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीको अध्यक्षतामा भएको थियो । सो अवसरमा केन्द्रका निर्देशक डाक्टर बासुदेव पाण्डेयले कार्यक्रमबारे जानकारी दिएका थिए ।
गोष्ठीमा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक अनुज भट्टचन, सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सजन केसी, कैलाली जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाई लगायत नौ वटै जिल्लाका जनस्वास्थ्य प्रमुख, स्थानीय तहका स्वास्थ्य संयोजकको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार