१८ आश्विन २०८१, शुक्रबार

बाम गठबन्धन धेरै दिन टिक्दैन– नेता सावद



धनगढी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रसाद (एनपी) सावदले बाम गठबन्धनको पार्टी धेरै दिन टिक्न नसक्ने दावी गरेका छन् ।
‘एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी राम्रोसँग चल्न सक्ने संकेत देखिँदैन’ शनिबार धनगढीमा नेपाल तरुण दलले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै केन्द्रीय सदस्य सावदले भने– ‘यो पार्टीमा साना–साना कुरामा पनि मतभेद भइरहने देखिन्छ ।’ उनले एकीकरण घोषणाका दिन दुई वर्षभित्र सहमतिमा नेतृत्व चयन गर्ने कुरा लोकतन्त्रको मूल्यमान्यता विपरित भएको बताए । उनले भने– ‘जहाँ पनि राजनीतिक दलको नेतृत्व छनोट गर्दा निर्वाचन नै सबैभन्दा राम्रो विधि मानिएको छ, तर बामगठबन्धनको यो सहमति लोकतन्त्रका विरुद्ध देखिन्छ ।’
लोकतन्त्रमा शान्तपूर्वक सबैले अधिकारको माग गर्न पाउने बताउँदै उनले– ‘अहिले कसैले शान्तिपूर्वक अधिकारको माग गर्दा सरकारले धरपकड गरिरहेको बताए । शुक्रबार नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य बृद्धिका विरुद्धमा सडकमा शान्तिपूर्वक र्‍याली गर्न खोज्दा प्रहरीले पक्राउ गरेकोप्रति आपत्ति व्यक्त गरे । ‘विद्यार्थीहरू शान्तिपूर्ण तरिकाले मूल्यबृद्धि घटाउन माग गरिरहेका छन्, संविधानले पनि अधिकारको माग गर्न पाउने व्यवस्था छ’ उनले भने– ‘सरकारले बहुमतको आडमा जनताको भावनाविपरित काम गर्ने प्रयास गरिरहेको छ ।’
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रत्ना शेरचनले काँग्रेसका भातृ संगठनलाई चुस्त, दुरुस्त भएर काम गर्न जरुरी रहेको बताए ।
नेपाली काँग्रेसका नेता चन्द्रसिंह भट्टराईले नेपाली काँग्रेसले भाषणको राजनीतिलाई कम गरेर आर वा पारको राजनीति गर्न जरुरी रहेको बताए । ‘अब हामी यस्ता कुरा गरौं जसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सक्छौं’ उनले भने ।
पूर्व केन्द्रीय सदस्य सुनिलकुमार भण्डारीले नेपाली काँग्रेसले अब जनताको विश्वास जित्नमा केन्द्रीत हुनुपर्ने बताए । उनले काँग्रेसले स्वार्थ केन्द्रीत भावनाले संगठन सुधार तर्फ पनि ध्यान दिनुपर्ने सुझाव दिए ।
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले नेपाली काँग्रेसले गुटउपगुट भित्रको लडाई बन्द गरी सरकारका गतिविधिहरूको निगरानी गर्न जरुरी रहेको बताइन् ।
नेपाली काँग्रेसका कैलाली सभापति नरनारायण शाह (मनु) ले पार्टीका सबै भातृ संगठनलाई वडा स्तरबाटै सुदृढिकरण गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले पार्टीभित्र कसैले गुट–उपगुट नभनी पार्टीको हितमा लाग्न जरुरी रहेको बताए ।
तरुण दलका अध्यक्ष दीपेन्द्र बमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद डा. रणबहादुर रावल, पूर्व सांसद दीर्घराज भाट, रामकुमारी चौधरी, दलित संघका पूर्व अध्यक्ष जंगबहादुर सुनार, नेपाल ट्ेरड युनियन कैलालीका उपाध्यक्ष तेजराज भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार