११ श्रावण २०८१, शुक्रबार

सामाजिक विकासमा सरकार उदासिन– नेता सावद



धनगढी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रसाद सावदले वर्तमान सरकार सामाजिक विकासप्रति उदासिन भएको आरोप लगाएका छन् ।
अहिलेको सरकारले सामाजिक विकासमा ध्यान दिएको छैन’ शुक्रबार धनगढीमा नेपाल दलित संघको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय सदस्य सावदले भने– वर्तमान सरकार भाषणबाजीमा नै रमाइरहेको छ ।
नेता सावदले दलित समुदायलाई राज्यको हरेक संरचनामा प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए । ‘दलित समुदाय सांस्कृतिक, सामाजिकm आर्थिक, शैक्षिक क्षेत्रमा पछाडी पारिएका छन्’ उनले दलित समदायको सशक्तिकरण तथा सामाजिक न्यायका लागि राज्यले विशेष पहल गर्नुपर्ने बताए ।
उनले कॉग्रेसले स्थापनाकालदेखि नै दलित समुदायको सशक्तिकरणका लागि काम गर्दैआएको चर्चा गरे । ‘स्थानीय तह तथा प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा काँग्रेसले दलित समुदायबाट उल्लेख्य संख्यामा उम्मेदवार बनायो’ उनले स्थानीय तह, प्रदेश तथा संघीय संसदमा काँग्रेसका तर्फबाट दलित समुदायका उल्लेख्य संख्यामा निर्वाचित जनप्रतिनिधि निर्वाचित भएको बताए ।
नेता सावदले बामपन्थीहरूले नारामा मात्रै समावेशीताको कुरा उठाउने गरेको टिप्पणी गरे । भने– भर्खर एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाले बनाएको सचिवालयमा महिला, दलित तथा मधेशीको प्रतिनिधित्व नै छैन । वास्तवमा यो बाम गठबन्धन नभएर बाहुन गठबन्धन मात्रै हो ।
कार्यक्रममा नेपाली कॉग्रेसका नेता सुनीलकुमार भण्डारीले पार्टीलाई पुनर्जीवन दिनुपर्ने वेला आइसकेको चर्चा गरे । ‘हामीले हाम्रो विचार, सिद्धान्त तथा सोचमा पुनर्जीवन गर्न सकेनौ भने काँग्रेसका लागि अगाडिका दिनहरू निकै दुरुह हुनेछन्’ नेता भण्डारीले भने– अब पनि काँग्रेस सचेत नभए लोकतन्त्र तथा राष्ट्रियताको सवाल पनि कमजोर हुदै जाने छ ।
काँग्रेसका पूर्व केन्द्रीय सदस्य चन्द्रसिंह भट्टराईले पार्टीकाका हरेक तहमा प्रशिक्षण आवश्यक रहेको बताए । उनले काँग्रेसभित्रको आन्तरिक कलहको अन्त्य नहु‘दासम्म जनताले विश्वास नगर्ने बताए ।
सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपालीले नेपाली कॉग्रेसमा दलित, उत्पीडित वर्ग, ज्येष्ठ नागरिक, एकल महिला लगायतको मत घट्दै गएको चर्चा गरे । उनले काँग्रेस व्यवस्थित भएमा कस्तै पनि गठबन्धनले हराउन नसक्ने दाबी गरे ।
प्रदेश सांसद रणबहादुर रावलले प्रदेशमा बामगठबन्धनको दुई तिहाईको दम्भ देखिन थालेको बताए । उनले भने– काँग्रेसले प्रदेशको समृद्धिका लागि सरकारलाई सहयोग गर्नेछ, तर आफ्ना कार्यकर्ता तथा आसेपासेलाई पोस्ने जस्ता काम जारी रहेमा काँग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नेछ ।
प्रदेश सांसद भरतबहादुर खड्काले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला भारतीय सैनिकलाई बोलाउनु तथा नेपालको राष्ट्रिय झण्डाको अपमान गरेकोमा सरकारको तिखो आलोचना गरे ।
कार्यक्रम दलित संघका जिल्ला अध्यक्ष जंगबहादुर सुनारको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा प्रदेश संसदहरू कर्णबहादुर मल्ल र टेकबहादुर रैका, दलित संघका केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, महासमिति सदस्य नारायणदत्त भट्ट, नेपाली कॉग्रेसका जिल्ला सभापति नरनारायण शाह (मनु), जिल्ला सदस्य नृपबहादुर सुनार, तरुण दलका जिल्ला अध्यक्ष दीपेन्द्र बम, नेपाल ट्रेड युनियन कैलाली अध्यक्ष ज्ञानेन्द्रबहादुर शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा दलित नेता प्रेम विकले स्वागत गरेका थिए ।

दलित संघ कैलालीको नयाँ कार्यसमिति
नेपाल दलित संघ कैलालीको अध्यक्षमा प्रेमबहादुर विक चयन भएका छन् । शुक्रबार भएको पॉचौ जिल्ला महाधिवेशनबाट विकको अध्यक्षतामा २४ जना कार्यसमिति चयन गरेको जनाइएको छ ।
कार्यसमितिको सचिवमा चक्रबहादुर नेपाली चयन भएका छन् । भने सदस्यमा कर्णबहादुर विक, भरत विक, शेरबहादुर आउजी, ईश्वरा विक, शंकर विक, खडक सुनार, विन्द्रा कुमारी देवल, चन्द्रा भुल, कृपाराज विक, उदय सार्की, कन्या सुनार, रामबहादुर नागर्जी, र माया ताम्राकार रहेका छन् ।
त्यस्तै, महाधिवेशन प्रतिनिधिमा शारदा सुनाम, विनितादेवी महर, नृपबहादुर सुनार, रमेश ताम्राकार, देवेन्द्रसिंह नेपाली, जंगबहादुर सुनार र मनिराम देवल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार