फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि छलफल
धनगढी । धनगढी उपमहानगरपालिकाले वडा नम्बर २ मोहनानदी किनारमा एकीकृत फोहर व्यवस्थापन केन्द्र निर्माण गर्ने कुरामा सहमती जुटाउन छलफल शुरु गरेको छ ।
बुधबार नगर प्रमुख नृपबहादुर वडले एकीकृत फोहोर व्यवस्थापन केन्द्र स्थापना तथा सञ्चालनबारे धनगढीमा राजनीतिक दलका प्रतिनिधिहरूसँग संयुक्त रूपमा छलफल गरे ।
बुधवार विभिन्न राजनीतिक दलका उपमहानगरपालिका स्तरीय नगर कमिटीका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल गरिएको नगर प्रमुख वडले बताए । ‘यो म नगर प्रमुख भएर आउनुभन्दा पहिले निर्णय भएको कुरो हो’ छलफलपछि नगर प्रमुख वडले सञ्चारकर्मीहरूसँग भने– ‘सबै दलका नेताहरू एकीकृत फोहर व्यवस्थापन केन्द्र निर्माण गर्ने कुरोमा सकारात्मक छन् ।’
राजनीतिक दलहरूसँगको छलफलपछि एकीकृत फोहर व्यवस्थापन केन्द्र निर्माणका विषयमा उपमहानगरपालिकाले पत्रकार सम्मेलन समेत गरेको थियो ।
पत्रकार सम्मेलनमा नगर प्रमुख वडले आफूहरूले वडा नम्बर २ अन्य वडाको भन्दा विकासमा पछाडि परेकाले त्यहाँ एकीकृत फोहर व्यवस्थापन केन्द्र निर्माणको योजना सञ्चालन गर्न खोजेको बताए । उनले भने– ‘हामीले त्यहाँ एकीकृत फोहर व्यवस्थापन केन्द्र मात्रै निर्माण गर्ने छैनौं विकासमा पूर्वाधारहरू समेत निर्माण गर्ने छौं ।’
नगरप्रमुख वडले एकीकृत फोहर व्यवस्थापन केन्द्र निर्माण गर्ने र त्यहाँ रोजगारी दिने विषयमा पनि त्यहाँका बासिन्दालाई प्राथमिकतामा राखिने बताए ।