११ श्रावण २०८१, शुक्रबार

सोना मन्सुलीमा ढुंगा र किरा



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित ठाकुर एग्रो इण्डष्ट्रिजको सात्विक ब्राण्डको सोना मंसुली चामलमा ढुंगा र ढुसी किरा भेटिएका छन् ।
सात्विक ब्राण्डको चामलमा सामान्य किरा भेटिने गरेको पहिले देखि नै गुनासा आउने गरेकोमा यस पटक चामलमा ठूलो मात्रामा ढुंगा र ढुसीकिरा भेटिएको उपभोक्ताले बताएका छन् । चामलमा ढुंगा र ढुसीकिरा भेटिएको उपभोक्ताको उजुरीपछि मंगलबार क्षेत्रीय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय धनगढीको टोलीले सो उद्योगमा अनुगमन गरेको थियो ।
ठाकुर एग्रो इण्डष्ट्रिजको सात्विक ब्राण्डको सोना मंसुली चामलमा सामान्य किरा भेटिँदा खासै चासो नगरेका उपभोक्ताले चामलको बोराभरी ढुंगैढुंगा भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा उजुरी गरेका थिए । धनगढी उपमहानगरपालिका वडा नम्बर ९, बंगराका दिनेश चौधरीले स्थानीय कार्की पसलबाट सो ब्राण्डको चामल खरिद गरी पकाउन खोज्दा चामलमा ढुंगैढुंगा भेटिएको बताए ।
उपभोक्ताको उजुरीपछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको अनुगमनका क्रममा सो पसलमा तीन कट्ठा सोना मंसुली चामलमा ढुसी किरा फेला परेको जनाइएको छ ।
ढुंगा भेटिएको चामल खरिद गरेको पसल र ठाकुर एग्रो इण्डष्ट्रिजमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गरेको थियो । अनुगमनका क्रममा चामलका केही बोरामा ढुसी किरा फेला परेका थिए । उद्योगका सञ्चालक शुभ ठाकुरका किराना पसलहरूको गोदाममा रहेको चामलमा किरा लागेको हुन सक्ने दावी गरे । उनले आफ्नो उद्योगबाट उत्पादित चामलमा ढुंगा नरहेको दाबी गरे ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कर्मचारीले ढुसी किरा लागेको चामलको ल्याव परीक्षण गर्ने बताए । ढुसी भएका चामलको ३/४ दिनभित्र ल्याव परीक्षण गर्ने र रिर्पोट अनुसार कारबाही हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीका प्रमुख सुमन धितालले बताए । ल्यावको रिर्पोट अनुसार अखाद्य बस्तु बिक्री गरेबापत पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र छ महिना कैद हुनसक्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका प्रमुख धितालले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार