१२ श्रावण २०८१, शनिबार

महासंघका प्रदेश कार्यसमितिको पदस्थापन



धनगढी । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ७ को पहिलो प्रदेश कार्यसमितिको आइतबार धनगढीमा पदस्थापन भएको छ । गत २२ गते महासंघको प्रदेश कार्यसमितिका लागि निर्वाचन भएको थियो ।
पदस्थापन कार्यक्रमको उद्घाटन गर्दै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको आर्थिक समृद्धिका लागि पत्रकारहरूको सकारात्मक सहयोगका लागि आग्रह गरे । उनले सञ्चारकर्मीहरूले नागरिकको हकअधिकार संरक्षण तथा संवद्र्धनका लागि समेत अहम् भूमिका निर्वाह गर्न आग्रह गरे ।
मुख्यमन्त्री भट्टले प्रदेश सरकारले पत्रकार महासंघको भौतिक संरचना विकासका साथै समग्र पत्रकारिताको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले प्रेसमैत्री प्रादेशिक ऐन बनाउन पत्रकार महासंघको सल्लाह, सुझाव लिएर काम गर्न सरकार तयार रहेको बताए ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले महासंघको संरचना पनि राज्यको संरचना जस्तै बनाउँदै लैजाने क्रममा स्वायत्त किसिमका प्रदेश समिति निर्माण गरिएको चर्चा गरे ।
अध्यक्ष आचार्यले प्रदेश समितिलाई पत्रकारलाई महासंघको सदस्यता प्रदान गर्ने र नविकरण गर्ने समेतको अधिकार प्रत्यायोजन गरिएको बताए । उनले केही वर्षपछि पत्रकार महासंघको जिल्ला समितिको भूमिका समन्वयकारी मात्रै हुने बताए ।
प्रदेश ७ का उद्योग तथा वन वातावरण मन्त्री माया भट्टले प्रेसमा महिला सहभागिता बृद्धिका लागि विशेष पहल गर्न आग्रह गरिन् ।
कार्यक्रममा पत्रकार महासंघका पूर्वकेन्द्रीय उपसभापति चित्राङ्ग थापा, केन्द्रीय सदस्य उत्तर बिष्ट, कैलाली शाखा अध्यक्ष जगत साउँद लगायतले मन्तव्य व्यक्त गरेका थिए । पदस्थापन कार्यक्रमपछि महासंघका प्रदेश निर्वाचन समिति संयोजक करुणाकर पाण्डेयले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए ।
महासंघका क्षेत्रीय संयोजक मीन बमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य श्याम भट्टले गरेका थिए ।
नेपाल पत्रकार महासंघ प्रदेश सातको आइतबार नै धनगढीमा बसेको बैठकले निर्वाचनमा सहयोग गर्ने सबै पत्रकारहरूलाई धन्यवाद प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, सचिवालय व्यवस्थापनको लागि सात सदस्यीय समिति गठन गरेको छ । अध्यक्ष अर्जुन शाहको संयोजकत्वमा गठित कार्यालय व्यवस्थापन समितिमा उपाध्यक्ष दुर्गाप्रसाद भण्डारी, महासचिव योगेश रावल, कोषाध्यक्ष नरेन्द्र भट्ट, सदस्य मुकेश टेंर्रा, भोजराज रोप्यारा र राधिका सापकोटा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार