एफएममा प्रवेश गरी पक्राउ
धनगढी । कैलालीको लम्कीस्थित रेडियो पश्चिम आवाजको स्टुडियोमा अन्तर्वार्ता दिँदै गरेका विप्लव नेृत्वको नेकपाका नेता दिलबहादुर साउँदलाई आइतबार पक्राउ गरेको छ । पत्रकार युवराज न्यौपानेले स्टुडियोमा नेता साउँदसँग अन्तर्वार्ता गरिरहेका थिए ।
दिउँसो सवा तीन बजेतिर हातहतियारसहित नेपाल प्रहरीको एक टोली एफएमको स्टुडियोमा प्रवेश गरी उनलाई पक्राउ गरेको बताइएको छ ।
नेपाल प्रहरीका नायव निरीक्षक कटकबहादुर रावत नेतत्वको ६/७ जनाको टोली जबरजस्ती अनाधिकृत ढंगले स्टुडियोमा प्रवेश गरी त्यहाँ रहेका पत्रकार तथा कर्मचारीलाई धम्क्याएको पत्रकार न्यौपानेले बताए । प्रहरी प्रवेश गरेपछि करिब आधा घन्टा एफएमको प्रसारण अवरुद्ध भएको थियो ।
यसैबीच, नेपाल पत्रकार महासंघ कैलालीले एफएमभित्र अनाधिकृत ढंगले जबरजस्ती प्रवेश गरेर अन्तर्वार्ता दिइरहेका अतिथिलाई गिरफ्तार गरेको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
महासंघका जिल्ला सचिव मीन ठकुरीले हस्ताक्षर गरेको विज्ञप्तिमा सञ्चार माध्ययमले आफ्नो कर्म गरिरहेको अवस्थामा बिना कुनै सूचना अनाधिकृत र निरंकुश शैलीमा प्रहरी प्रवेश गर्नु तथा संचारकर्मी र अतिथिलाई गिरफ्तार गर्नुले प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको उल्लेख छ ।
महासंघ कैलालीले प्रहरीको यो कार्यप्रति घोर भत्र्सना गर्नुका साथै घटनाको गम्भीर छानविन गरी दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न आब्हान गरेको छ ।
त्यस्तै, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर, आदिवासी जनजाति पत्रकार महासंघले पनि घटनाको घोर विरोध गरेका छन् ।
त्यस्तै, रेडियो पश्चिम आवाजका अध्यक्ष विपि खनालले पनि प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले सञ्चार जगतलाई आतंकित तुल्याउने दुस्प्रयास गरेकोमा घोर आपत्ति व्यक्त गरेका छन् ।