एक सय बढी निजी विद्यालयमा तालाबन्दी
धनगढी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) ले कैलालीका विभिन्न स्थानमा गरी एक सय बढी निजी विद्यालयमा तालाबन्दी गरेको छ ।
जिल्लाको धनगढी, टीकापुर, लम्की, घोडाघोडी, गोदावरी र गौरीगंगा नगरपालिका तथा जोशीपुर, जानकी र कैलारी गाउँपालिकाका विभिन्न निजी विद्यालयमा बिहीबार तालाबन्दी गरिएको जनाइएको छ ।
विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका अध्यक्ष झलक विकको नेतृत्वमा रहेको टोलीले निजी विद्यालयहरूले महँगो पढाई शुल्क असुल गरिरहेको, शिक्षालाई व्यापारीकरण गरिरहेको लगायतको आरोप लगाउँदै आएको छ ।
अखिल क्रान्तिकारीका नेता बबरजंग सिंहले धनगढीको एक्सीस, ग्यालेक्सी, मोर्डन एरा, स्टेपिङ स्टोन लगायतका विद्यालयमा पनि तालाबन्दी गरेको जानकारी दिए ।
यसअघि विद्यार्थी संगठनले विद्यालयका विकृति रोक्न भन्दै विभिन्न बुँदे मागपत्रसहित कैलालीका स्थानीय तहका प्रमुख, कैलाली जिल्ला शिक्षा अधिकारी, प्यावसन, एन प्यावसन लगायतका प्रमुखहरूलाई मागपत्र बुझाएका थिए । उनीहरूले बुझाएको मागपत्रमा तीन दिनभित्र शिक्षाका विकृति नरोकिए तालाबन्दी गरिने उल्लेख गरेका थिए ।