कानुन दिवस मनाइयो
धनगढी । ६७ औं कानुन दिवस कैलालीसहित देशभरी बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । कानुन दिवसका अवसरमा नेपाल बार एसोसिएसन कैलालीले बुधबार धनगढीमा ‘वर्तमान अवस्थामा कानुनको महत्त्व र न्यायपालिकाको भूमिका’ विषयक अन्तरक्रिया गरेको छ ।
सो अवसरमा जिल्ला न्यायधिश विष्णुप्रसाद अर्यालले न्यायालयलाई निष्पक्ष र स्वतन्त्र वातावरणमा काम गर्न दिनुपर्ने बताए । उनले समाजको आवश्यकता अनुसार कानुन परिवर्तन तथा परिमार्जन हुने बताए ।
कार्यक्रममा जिल्ला न्यायधिश परशुराम भट्टराईले अदालतलाई स्वार्थपूर्तिका रूपमा प्रयोग नगर्न राजनीतिक दल तथा आम नागरिकसँग आग्रह गरे ।
कैलाली प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले व्यक्तिगत स्वतन्त्रताको माग बढेकाले अदालत तथा न्यायलयमा मुद्दाको चाप बढ्दै गएको बताए ।
सो अवसरमा धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले काुननको महत्त्व घर–घरसम्म पुर्याउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् । उनले कानुनलाई आम मानिसको संस्कारसँग जोड्न जरुरी रहेको बताइन् । ‘जबसम्म कानुनलाई संस्कारसँग जोड्न सकिदैन न्यायलयमा मुद्दाका चाप बढीनै रहन्छन्’ उनले भनिन् ।
जिल्ला बार एसोसिएसनका अध्यक्ष प्रेम चन्दको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा कैलालीका प्रहरी प्रमुख विनोद घिमिरे, वरिष्ठ अधिवक्ता रमेशदेव भट्ट, जिल्ला वकिल कार्यालयका सहायक न्यायधिवक्ता भानदेव जोशी, वारका पूर्व अध्यक्ष रामबहादुर केसी र गंगाराम पाध्या लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अधिवक्ता गम्भीरसिंह ऐरले स्वागत गरेको कार्यक्रमको सञ्चालन बारका सचिव हिमालयविक्रम विष्टले गरेका थिए ।