११ श्रावण २०८१, शुक्रबार

सुरक्षित आप्रवासन सम्बन्धी कार्यक्रम



टीकापुर । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ मा आइतबार सुरक्षित आप्रवासन सम्बन्धी जनचेतनामूलक कार्यक्रम भएको छ ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, सञ्जाल समिति जानकी गाउँपालिकाको आयोजना तथा जानकी गाउँपालिका वडा नं. ९ को वडा कार्यालयको आर्थिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धीमूलक बनाउनका लागि छलफल भएको थियो ।
वडा नम्बर ९ का वडाध्यक्ष खगेन्द्र भण्डारीले वैदेशिक रोजगार पाइला पाइलामा चूनौतिपूर्ण रहेको बताए । आफूले समेत मलेसिया गएर तीन वर्ष काम गरेको अनुभव सुनाउँदै उनले बैदेशिक रोजगारमा रहेका व्यक्तिको परिवारका सदस्यले पैसा र कमाईको बारेमा मात्रै कुरा नगरेर उनको स्वास्थ्य, सुरक्षाको बारेमा समेत जानकारी राख्न अनुरोध गरे । वडाध्यक्ष भण्डारीले वैदेशिक रोजगारमा रहेका व्यक्तिका परिवारले फजुल खर्च गर्ने बानी हटाउनुपर्ने र बचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र कैलालीका जिल्ला अध्यक्ष नारायणबहादुर विकले वैदेशिक रोजगारको शिलशिलामा ठगिएका व्यक्तिहरू न्याय पाउने अवस्था नरहेको बताए । उनले जाने तयारी गरिरहेका व्यक्तिले वैदेशिक रोजगार सम्बन्धी सूचना र सीप तालीम पाउने व्यवस्था पनि स्थानीयस्तरमा राज्यले नगरेको गुनासो गरे । स्थानीय स्तरमा न्याय, सूचना र सीप तालीम दिने व्यस्था गर्न राज्यलाई दवाव दिने काम संगठनले गरिरहेको बताए ।
कार्यक्रममा वडा नं. ९ का बैदेशिक रोजगारमा गएका व्यक्तिको परिवार, वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति र जाने गरे तयारी गरेका व्यक्तिहरूको सहभागिता थियो । सहभागीहरूलाई सञ्चार प्रतिष्ठान नेपालद्वारा सञ्चालित सुरक्षि आप्रवासन परियोजनाका कार्यक्रम अधिकृत कृष्णबहादुर विक र सामाजिक परिचालक मुकेश चौधरीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा बैदेशिक रोजगारका वर्तमान अवस्था, अवसर र चूनौति तथा बैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धीमूलक बनाउनका लागि गर्न सकिने प्रयास र भएका व्यवस्थाको बारेमा छलफल भएको थियो ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, सञ्जाल समिति जानकी गाउँपालिकाका प्रमिला कठरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य भीमबहादुर विकले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार