१० श्रावण २०८१, बिहीबार

यातायात व्यावसायीपछि सरे



धनगढी । कैलालीका यातायात वस व्यवसायीहरू आफ्नो मागबाट पछि हटेका छन् । शुक्रबार यातायात ग्यारेजमा थन्काएपछि पक्राउ परेका यातायातका पदाधिकारीहरू आफ्नो मागबाट पछि हटेका छन् ।
कैलाली प्रहरीले अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ बमोजिम यातायात व्यवसायीहरूलाई कारबाही गर्ने तयारी गरेपछि उनीहरूले अब नियम कानुन अनुसारनै चल्ने सहमति गरेका छन् । कैलाली प्रहरीका अनुसार यातायात व्यवसायीहरूले अब हडताल नगर्ने, प्रालिमा दर्ता हुने र नियमानुसार यातायात सञ्चालन गर्ने सहमति गरेका छन् ।
सिन्डीकेटको पक्षपोषण गरेको भन्दै प्रहरीले आठ जना व्यवसायीहरूलाई शुक्रबार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कर्णाली रिभर यातायात व्यवसायी संघका धिरज शाही, महासचिव गणेशराज ओली, कोषाध्यक्ष जैरु बुढा र दुई जना सदस्य ज्ञानु भण्डारी र कृष्णप्रसाद भट्टराई तथा सुदूरपश्चिम यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष टेकराज जोशी र सचिव राजु गिरी रहेका थिए ।
कैलाली प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक वीरबहादुर बुढामगरका अनुसार उनीहरूले जिल्ला प्रशासन कार्यालयमा कानुन बमोजिम यातायात सञ्चालन गर्ने सहमति गरेपछि छोडिएको छ ।
शुक्रबार सरकारले आफनो माग पुरा नगरेको भन्दै उनीहरूले गाडी ग्यारेजमा थन्काएका थिए । गृहमन्त्रालयले यातायात सञ्चालन नगर्ने व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएपछि उनीहरूलाई पक्राउ गरिएको थियो ।
शनिबार विप्लव नेतृत्वको नेकपा माओवादीको बन्द भएका कारण यातायात सेवा प्रभावित भएको थियो भने आइतबार यातायात व्यवसायी समितिहरूले सवारी साधनहरू विहानैदेखि चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार