साथी हाेटलमा प्रहरीद्वारा छापा, होटल म्यानेजर प्रहरी नियन्त्रणमा



धनगढी । धनगढीस्थित साथी होटलमा रहेको क्यासिनोबाट भारतीय मुद्रासहित म्यानेजरलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
आइतबार विशेष सूचनाको आधारमा कैलाली प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक वीरबहादुर बुढामगरको नेतृत्वमा गएको टोलीले होटलका म्यानेजर सुजन दाहाललाई पक्राउ गरेको हो ।
उनका अनुसार छापा हान्दा भारतीय नोट पाँच सय र दुई हजारको नोट क्यासिनोमा प्रयोग भएको थियो । उनले भारतीय एक सय भन्दा ठूला नोट प्रयोग गर्न नपाइने बताए । कैलाली प्रहरीले सो क्यासिनोबाट १० लाख पाँच हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेका दाहाललाई विदेशी मुद्रा अपचलन ऐनअनुसार कारबाही गरिने कैलाली प्रहरी प्रवक्ता बुढामगरले बताए ।

प्रतिक्रिया दिनुहोस्