१२ श्रावण २०८१, शनिबार

सार्कका तीन देशमा विस्तार भयो, समता



अत्तरिया । मासिक एक सय रुपैयाँ लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नातकोत्तर तहसम्म अध्यापन गराउँदै आएको समता स्कुल देशका सबै जिल्ला र सार्कका तीन देशमा सञ्चालनमा आएको छ ।
समता स्कुल नेपालका ७७ जिल्ला र सार्क मुलुकका भारत, श्रीलंका र बंगलादेशमा सञ्चालनमा आएको हो । यस वर्ष थपिएका ठाउँमा नयाँ शैक्षिक सत्रबाट अध्ययन सुरु हुनेछ । समता सकुलले सात नम्बर प्रदेशका सबै जिल्लाहरूमा पनि शाखाहरू सञ्चालनमा ल्याएको छ ।
प्रदेश सातका डोटी, बैतडी, अछाम, डडेल्धुरा, बाजुरा, बझाङ, दार्चुला, कैलाली र कञ्चनपुरमा समता स्कुलले पढाई शुरु गरेको छ । कैलाली र कञ्चनपुरमा गत शैक्षिक वर्षबाट शुरु भएपनि अन्य जिल्लाहरूमा भने यो वर्षबाट पढाई शुरु भएको हो ।
एक सय रुपैयाँ मासिक शुल्कमा निजी विद्यालयले दिने शिक्षा समता स्कुलले दिन थालेपछि विद्यार्थीको आकर्षण बढ्न थालेको अत्तरियामा रहेको समता स्कुलकी प्रन्सिपल रितु पाण्डेले जानकारी दिइन् । गत वर्ष थोरै विद्यार्थीबाट शुरु गरिएको विद्यालयमा यो वर्ष झण्डै ५ सयको हारहारीमा विद्यार्थी भर्ना गरिएको प्रिन्सिपल पाण्डेको भनाइ रहेको छ ।
अत्तरियामा गत वर्षदेखि सञ्चालनमा आएको विद्यालय यो वर्षदेखि सुविधा सम्पन्न भवनमा सरेको छ । भवन प्रवेश कार्यक्रमको शुक्रबार एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह सावंदले प्रांगणमा बिरुवा रोपेर शुभारम्भ गरे ।
उनले नगरपालिकाको तर्फबाट समता स्कुलका लागि गर्नुपर्ने सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त समेत गरे । विद्यालयकी प्रन्सिपल रितु पाण्डेले समता स्कुल सामाजिक गैर नाफामुलक विद्यालय भएकोले विद्यालयको लागि नगरपालिकालाई जग्गा उपलब्ध गराइदिन माग गारिन् ।
पाण्डेले पहाडका अन्य जिल्लामा पनि विद्यार्थीको राम्रो चाप रहेको जानकारी दिइन । समता स्कुल विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगबाट चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार