६ माघ २०८१, आईतवार

छाडा पशुचौपाया व्यवस्थापनमा सहयोगका लागि आग्रह



धनगढी । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले छाडा पशुचौपाया व्यवस्थापनका लागि सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।
बुधबार शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ धाममा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख वडले धनगढीमा लामो समयदेखि ठूलो समस्याका रूपमा रहेको छाडा पशुचौपाया व्यवस्थापनका लागि उपमहानगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताए ।
छाडा पशुचौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गर्ने उद्देश्यले शिवपुरीधाममा मंगलबारदेखि श्रीमद्भागवत गौ संरक्षण महायज्ञ सुरु भएको छ ।
नगर प्रमुख वडले छाडा गाईगोरुको व्यवस्थापन गर्नका लागि थालिएको महायज्ञ सफल पार्न पनि आम नगरवासीमा आह्वान गरे । उनले भने– ‘उपमहानगरपालिकाका विभिन्न भागमा छाडा छोडिएका गाईगोरुका कारण किसानहरू सडकमा आउने अवस्था सिर्जना भएको छ ।’ त्यसैले छाडा पशुचौपाया व्यवस्थापन गर्ने जिम्मेवारी उपमहानगरपालिकाको मात्रै हो भनेर हात बाँधेर बस्ने हो भने समस्या समाधन हुन कठिन छ । उनले अन्यत्रबाट समेत छाडा गाइगोरु धनगढीमा पठाइन गरेको बताए ।
उनले कैलालीका अन्यत्र क्षेत्र र कञ्चनपुरका मात्रै नभएर भारतबाट समेत धनगढीमा गाईगोरु पठाउने गरेकोले जतिसुकै प्रयास र व्यवस्थापन गर्दा पनि सडकमा देखिने गाईगोरुको संख्या कम हुन नसकेको बताए ।
धनगढी उपमहानगरपालिका क्षेत्रमा अहिले पनि करिब १५ सयको हाराहारीमा छाडा गाईगोरु रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार