७ पुष २०८१, आईतवार

यातायात व्यावसायीद्वारा घेराउ



धनगढी । सरकारले संशोधन गरी जारी गरेको यातायात सवारी नियमावली, २०७४ को खारेजीको माग गर्दै यातायात व्यावसायीहरूले आइतबार धनगढीस्थित यातायात व्यवस्था कार्यालय घेराउ गरेका छन् ।
सरकारले यातायात सवारी नियमावली २०६० लाई खारेज गरी जारी गरेको नयाँ नियमावलीले आम यातायात व्यवसायी र व्यावसायिक संघसंस्थालाई धरापमा पार्ने बताउँदै उनीहरूले सोको खारेजीको माग गर्दै आएका छन् ।
यातायात व्यावसायीहरूले चार खर्ब रुपैयाँ बढी लगानी भएको सार्वजनिक यातायात क्षेत्रलाई ध्वस्त बनाउने गरी ल्याएको नियमावली खारेज नभए व्यावसायको साथै चालिस हजार बढी मजदूरहरू प्रत्यक्ष रुपमा प्रभावित हुने बताएका छन् ।
घेराउ कार्यक्रममा धारणा व्यक्त गर्दै नेपाल यातायात व्यवसायी मजदूर महासंघका केन्द्रीय सदस्य लवबहादुर शाहीले ‘लामो समयदेखि सार्वजनिक सवारी साधन सञ्चालन गरी देशको विकासका लागि निजी क्षेत्रले निर्वाह गरेको भूमिकाप्रति सरकारले वेवास्ता’ गरेको बताए । उनले भने– ‘सरकारले यस्तो महत्त्वपूर्ण निजी क्षेत्रको व्यावसायलाई बन्द गराउने उद्देश्यले नै यो नियमावली जारी गरेको छ ।’ केन्द्रीय सदस्य शाहीले नियमावली फिर्ता नगरे कडा आन्दोलनमा जाने चेतावनी दिए ।
नेपाल यातायात व्यावसायी मजदूर महासंघको केन्द्रीय कार्यक्रमअन्र्तगत आज (सोमबार) र मंगलबार र बुधबार थप आन्दोलनको तयारी गरिने र २० गते सडकमा कुनै सवारी साधन नचलाउने कार्यक्रम रहेको छ ।
‘हामीले यातायात यो देशको विकासको मेरुदण्ड हो भनिरहेका छौं, तर सरकारले यातायात क्षेत्रमा कुनै काम गर्न सकेको छैन’ केन्द्रीय सदस्य शाहीले भने– ‘अहिलेसम्म सरकारले काठमाडांैंमा साझा बससम्म सञ्चालन गरेको छ, तर हामी निजी क्षेत्र दुर्गमभन्दा दुर्गम क्षेत्रसम्म पनि पुगेर सेवा दिइरहेका छौं ।’
सुदूरपश्चिम बस व्यावसायी समितिका अध्यक्ष पदम सापकोटाले सरकारले ल्याएको नियमावलीले प्रत्येक यातायात व्यवसायी संघ वा समिति कम्पनीमा परिणत हुनुपर्ने नियम उपयुक्त नभएको बताए । उनले यो निर्णयले व्यवसायीहरूले सवारी साधनमा गरेको लगानी असुरक्षित हुन लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार