११ श्रावण २०८१, शुक्रबार

दुर्घटनामा घाइते सांसदप्रति सरकार उदासिन भएको गुनासो



धनगढी । १२ दिनअघि मोटरलसाइकल दुर्घटना गम्भीर घाइते भएका सात नम्बर प्रदेश सभा सदस्य तारा लामा तामाङको उपचारमा प्रदेश सरकार उदासिन बनेको गुनासो बढेको छ ।
प्रदेश नम्बर ७ मा सत्तापक्षीय दल नेकपा (एमाले) का प्रमुख सचेतक समेत रहेका सांसद तामाङ बैशाख ३ गते धनगढीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा भर्ना गराइएको थियो ।
एमाले कञ्चनपुरका अध्यक्ष समेत रहेका घाइते सांसद तामाङका आफन्तले प्रदेश सरकारले उनको अवस्थाबारे पनि कुनै चासो समेत नराखेको गुनासो गरे । ‘उहाँ दुर्घटनामा परेको दिन प्रदेश सरकारका मन्त्रीहरूले सहयोग गर्नुभयो’ उनका आफन्तहरूले भने– ‘तर ग्राण्डी अस्पतालमा भर्ना गरिएपछि कसैले पनि उहाँबारे चासो लिएनन् ।’
दुर्घटनामा सांसद तामाङको बायाँ खुट्टा भाच्चिएको छ । उनका आफन्तहरूका अनुसार उनको उपचारमा हालसम्म पाँच लाख रुपैयाँ बढी खर्च भइसकेको छ ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सांसद तामाङले सरकारसँग सहयोगका लागि कुनै माग नगरेको बताए ।
मुख्यमन्त्री भट्टले सांसद तामाङले सहयोग मागेमा सरकारले सक्दो सहयोग गर्ने बताए ।
प्रदेशका सभामुख अर्जुनबहादुर थापाले आफूले सरकारसँग सांसद तामाङको उपचारका लागि सहयोग गर्न आग्रह गरेको बताए । ‘संसदमा अल्पकालीन बजेट पेस भएका कारण बैंक खाता रोक्का छ, नत्र उहाँ (सांसद तामाङ) लाई पेश्की दिने सोंच थियो’ उनले भने– ‘बजेट पारित भएपछि केही दिनभित्रै पेश्की रकम प्रदान गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार