१२ श्रावण २०८१, शनिबार

विवाहकाे खर्च कटाएर विद्यालयलार्इ सहयोग



धनगढी । धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टका छोराले विवाहको खर्च कटाएर विद्यालयमा सहयोग गरेका छन् ।
गत ५ गते वैवाहिक जीवनमा बाँधिएका भट्टकी छोरा सौनकले धनगढी–५, हसनपुरस्थित पञ्चोदय माध्यामिक विद्यालयलाई रकम हस्तान्तरण गरेका हुन् ।
सौनकले काठमाडाैंको गुहेश्वरी मन्दिरमा मञ्जु लामेछानेसंग विवाह गरेका थिए । उनले ठुलो भव्य कार्यक्रम नगरी विवाहमा लाग्ने रकमलाई कटौती गरि विद्यालयमा रहेका गरिव, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्न सो रकम सहयोग गरेको बताए ।
सौनकले एक लाख ५० हजारको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद भट्टलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा सौनकले भने ‘आमा–बुवाको प्ररेणा र सुझावले सामाजिक कार्यमा अग्रसर बनायो ।’ उनले विद्यालयमा रकम सहयोग गरेसंगै सामाजिक कार्यको सुरुवात भएको पनि बताए ।
सो अवसरमा विद्यालयका प्राधानाध्यापक पदम कुँवरले दम्पतीले प्रदान गरेको सहयोग रकमलाई मुद्धती खातामा राखेर आएको ब्याजबाट कक्षा ११ र १२ मा पढ्ने जहेन्दार, गरिव छात्र/छात्रालाई छात्रवृति प्रदान गरिने बताए ।
रकम हस्तान्तरण कार्यक्रममा सनका आमा एवं धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख सुशीला मिश्र, बुवा एनडी भट्ट, सनक श्रीमती मञ्जु, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हिरासिंह पातली लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार