१२ श्रावण २०८१, शनिबार

तरुण दलको प्रशिक्षण कार्यक्रम समापन



धनगढी । नेपाल तरुण दलको सात नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम बिहीबार धनगढीमा समापन भएको छ ।
प्रशिक्षण समापनका अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले नेपाली काँग्रेसप्रति आस्था राख्ने सम्पूर्ण कर्मचारी, संघसंस्था, निर्माण व्यवसायी, सहकारी लगायतले पनि आ–आफनो ठाउँमा प्रतिपक्षको भुमिका निर्वाह गर्न आग्रह गरे ।
उनले पार्टीभित्र पूर्ण एकता कायम नहुँदासम्म पार्टी बलियो नबन्ने दोहोर्‍याए । उनले भने– अब सबै एक भएर पार्टीलाई मजबुत बनाउनतर्फ लागौं । उनले देशलाई काँग्रेसमय बनाउन तरुण दलको सक्रियता आवश्यक रहेको पनि बताए । उनले काँग्रेसले सबै खाले आक्रमणको अनुमान लगाएर अघि बढ्ने बताए ।
नेपाल तरुण दलका नेता उदयसमशेर राणाले काँग्रेसकै नेतृत्वमा शान्ति सम्झौता, काँग्रेसकै नेतृत्वमा संविधान जारी र पूर्ण कार्यान्वयन भए पनि चुनावमा हार बेहोर्नु परेको चर्चा गरे ।
नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईले तरुण दलको नेतृत्वमा देशलाई काँग्रेसमय बनाइने बताए । उनले तरुण दलका कार्यकर्तालाई गाउँ घर, वडा तहमा पुगेर काँग्रेसका नीति, कार्यक्रम, योजना लगायतका बारेमा जानकारी दिन निर्देशन दिए ।
तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा तरुण दलका कोषाध्यक्ष विद्धान गुरुङ, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, तरुण दलका पूर्व केन्द्रीय सदस्य गोपाल देउवा, तरुण दलका नेता दिनेश शाह, नृप सुनार, विष्णु ऐडी, निलम जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा तरुण दल कैलालीका अध्यक्ष दीपेन्द्र बमले स्वागत गरेका थिए । प्रशिक्षण कार्यक्रममा तरुण दलका नौ वटै जिल्लाका अध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार