९ माघ २०८१, बुधबार

गैरव्यावसायी मतदाता खारेजको माग चर्कियो



धनगढी । गैरव्यावसायिक मतदातालाई खारेज गर्नुपर्ने माग गर्दै बिहीबार कैलाली उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरिएको छ ।
गैरव्यावसायिक मत खारेजीको माग गर्दै बिहीबार बिहान आठ बजे संघको कार्यालयमा तालाबन्दी गरिएको थियो । बिहान १० बजे प्रहरीको सहयोगमा ताल्चा तोडिएको थियो ।
तालाबन्दीमा संलग्न व्यावसायी जयराज न्यौपानेले ‘पटक–पटक फर्जी मत खारेजीको माग गर्दा पनि वेवास्ता गरिएको तालाबन्दी गर्नुपरेको बताए ।
करिब नौ हजार सदस्य रहेको कैलाली उद्योग वाणिज्य संघमा चार हजार बढी गैरव्यावसायिक मतदाता रहेको दावी गरिएको छ । आन्दोलनमा उत्रिएका व्यावसायीहरूले संघको आगामी २२ गते हुने निर्वाचनलाई लक्षित गरी यस पटक पनि सयौं नयाँ सदस्य थपिएको आरोप लगाएका छन् ।
उनीहरूले गैरव्यावसायिक मतदाता खारेजी र सम्पूर्ण व्यापारिक फर्मलाई करको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय, कैलालीमा उजुरी समेत दिएका थिए । जिल्ला प्रशासन कार्यालयले सो समबन्धमा आन्तरिक राजस्व कार्यालय र कैलाली उद्योग वाणिज्य संघलाई पत्राचार गरेको जनाइएको छ ।
यसैबीच, यही बैशाख २२ गतेको संघको साधारण सभा स्थगित गर्न माग गर्दै उच्च अदालतमा मुद्दा दायर भएको छ । व्यवसायीद्वय रविनकान्त पन्त र सञ्जयकुमार चौधरीले साधारण सभा स्थगितको माग गर्दै उच्च अदालत दिपायलमा मुद्दा दायर गरेको जनाइएको छ ।
व्यावसायी पन्तले कैलाली उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय कैलाली र आन्तरिक राजस्व कार्यालयलाई प्रतिवादी बनाएर गत सोमबार मुद्दा दायर गरिएको बताए । उनले सदस्यता शुल्क मात्र लिएर सदस्यता नविकरण गर्ने प्रक्रिया त्रुटिपूर्ण रहेको बताए ।
सो मुद्दाबारे उच्च अदालतमा मंगलबार बहस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार