६ माघ २०८१, आईतवार

६० जिल्लाका सिडियो सरुवा



धनगढी । संघीय गृह मन्त्रालयले कैलाली सहित देशभरका ६० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा सहायक प्रमुख जिल्ला अधिकारीलाई एकै पटक सरुवा गरेको छ । गृह मन्त्रालयले बिहीबार सहसचिव सिडिओ हुने ३१ जिल्ला तथा उपसचिव सिडिओ हुने २९ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।
गृह मन्त्रालयले ७ नम्बर प्रदेशको कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, अछाम र दार्चुलाका प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयको अनलाईन पोर्टलअनुसार कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई रौतहट सरुवा गरिएको छ । त्यस्तै, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई डडेल्धुरामा प्रमुख जिल्ला अधिकारी बनाएर सरुवा गरिएको छ ।
कैलालीका प्रजिअ रिजालको स्थानमा झापाका ऋषिराम तिवारी र सहायक प्रजिअ जोशीको स्थानमा अछामका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीलाई सरुवा गरिएको छ ।
त्यस्तै, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टलाई कञ्चनपुरको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर सरुवा गरिएको छ । अछामका प्रमुख जिल्ला अधिकारी चौधरीको स्थानमा कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णप्रसाद आचार्यलाई सरुवा गरिएको छ ।
डोटीका कामु प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । उनको स्थानमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई पठाइएको छ ।
त्यस्तै, बाजुराका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीलाई काठमाडौंको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ । उनको स्थानमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक चेतराज बराललाई पठाइएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई अध्यागमन विभागमा सरुवा गरिएको छ । उनको स्थानमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक खुमकान्त आचार्यलाई सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार