११ श्रावण २०८१, शुक्रबार

कैलाली भ्रमण वर्ष शुरु



धनगढी । कैलाली भ्रमण वर्ष २०७५ बुधबारदेखि शुरु भएको छ । भ्रमण वर्ष मूल समारोह समितिको सचिवालय बुधबारदेखि अभियान शुरु गरेको छ ।
जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित सचिवालयको प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री माया भट्टले उद्घाटन गरिन् ।
सो अवसरमा मन्त्री भट्टले प्रदेशलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताइन् । ‘पर्यटनबाटै मात्र प्रदेशको समृद्धि सम्भव छ’ मन्त्री भट्टले भनिन्– ‘मन्त्रालय मातहात वन, उद्योग भए पनि प्राथमिकता भने पर्यटन क्षेत्रको विकास नै हो । उनले भ्रमण वर्षले प्रदेशभित्र ओझेलमा रहेका पर्यटकीय क्षेत्रहरूको संरक्षण, सम्वद्र्धनमा सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरिन् ।
जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाले बैशाख २२ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबाट भ्रमण वर्षको कर्णाली पुलबाट शुभारम्भ गराइने जानकारी दिए ।
भ्रमण वर्षको शुभारम्भ पश्चात कर्णालीमा प्रधानमन्त्री ओलीलाई र्‍याफटिङ गराइने र टीकापुर पार्क घुमाइने कार्यक्रम रहेको बताए । उनले यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाइने बताए ।
कार्यक्रमअनुसार राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यहरूलाई कैलालीस्थित धार्मीक, ताल तलैया, पार्क लगायतका पर्यटकीय स्थलमा भ्रमण गराइने छ ।
उनले भ्रमण वर्ष अन्तर्गत १२ वटा क्रियाकलाप रहेको बताए । भ्रमण वर्षको अन्तिममा पर्यटकीय क्षेत्रको सम्भावना, समस्या, समाधान सहितको पुस्तक बनाई पर्यटकीय स्थलको सम्वद्र्धन, प्रवद्र्धन गर्न योजना बनाइने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार