टीकापुरमा सिटी बसपार्क सञ्चालनमा
टीकापुर । टीकापुर नगरपालिका वडा नं.१ ब्लक नं. ३० स्थित सिटी बसपार्क मंगलबारबाट सञ्चालनमा आएको छ । टीकापुर नगर बस बिसौनीको मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । यसअघि खडक चौकमा पार्किङ हुंदै आएका बसहरू मंगलबारबाट सिटी बसपार्कमै पार्किङ हुन थालेका छन् ।
बसपार्क उद्घाटन गर्दै नगर प्रमुख तपेन्द्रबहादुर रावलले नगरपालिकाको प्रयासलाई सफल बनाउने स्थानीयलाई धन्यवाद दिंदै व्यवस्थापनमा भएका कमी कमजोरी नगरपालिकाले व्यवस्थापन गरेर जाने बताए ।
कार्यक्रममा उपमेयर केशरी विष्टले स्थानीयले आर्थिक संकलन गरेर शुरु गरेको अभियानले सार्थकता पाएको बताउंदै बसपार्क व्यवस्थीत बनाउन नगरपालिकाले सघाउने बताइन् ।
कार्यक्रममा नेकपा एमालेका सूर्यचन्द्र भट्टराई, नेपाली काँग्रेसका धनराज उपाध्याय, नेकपा माओवादीका लक्ष्मी शाही, जिल्ला विकास समिति डोटीका पूर्व सभापति केशवराज उपाध्याय, बस व्यवसायी समितिका भरत रावल, निर्माण उपभोक्ता समितिका अध्यक्ष हेमन्त बिक लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम प्रशासकीय अधिकृत रन्जु आचार्यले सञ्चालन गरेकी थिइन् ।