सन्तनिरंकारी मण्डलद्वारा रक्तदान
टीकापुर । सन्तनिरंकारी मण्डल नेपालले कैलालीको लम्कीमा रक्तदान गरेको छ । निरंकारी मण्डलको मोतीपुर शाखाले गरेको रक्तदान कार्यक्रममा २६ पिन्ट रगत संकलन भएको छ ।
‘रगत नालीमा होइन नाडीमा बगाऔं’ भन्ने नाराका साथ निरंकारी मण्डलले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ । निरंकारी मण्डलका नेपाल प्रभारी नरबहादुर रावल प्रमुख अतिथि रहेको कार्यक्रममा लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले समेत रक्तदान गरेका थिए ।
निरंकारी मण्डलका नेपाल प्रभारी नरबहादुर रावलले मण्डलले पटक पटक विभिन्न शाखाहरुमा रक्तदान, फलफूल वितरण, सरसफाई जस्ता कार्य गर्दै आएको बताए । रावलले सामाजिक दायित्व बहन गर्ने उद्देश्यका साथ सामाजिक कार्यमा हातेमालो गर्नुका साथै विपद्मा रहेकाहरूलाई समेत मण्डलले सघाउने कार्य गरेको बताए ।