१२ श्रावण २०८१, शनिबार

चुनौतिको सामना गर्दै सरकार अघि बढेको छ– मुख्यमन्त्री



धनगढी । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले थुप्रै चुनौतिको सामना गर्दै सरकार अघि बढिरहेको बताएका छन् । मुख्यमन्त्री भट्टले सरकारले नीति तथा कार्यक्रम र अल्पकालीन बजेटमार्फत आगामी दिनको आधारशीला राखेको चर्चा गरे ।
‘प्रदेश सरकार नौलो संरचना र अभ्यास भएकाले स्रोतसाधन, व्यवस्थापकीय क्षमता, जनशक्ति, ऐनकानुन आदिको कमीका कारण हामीले चाहेअनुरूप अघि बढ्न सकिरहेका छैनौं’ मुख्यमन्त्रीको कार्यालयमा मंगलबार आयोजित पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले भने– ‘तर, हामीले सरकार गठन भएको करिब दुई महिनाको अवधिमा गरेका निर्णय, नीति र कार्यक्रम तथा अल्पकालीन बजेटमार्फत आगामी दिनको मार्गचित्र प्रस्तुत गरेका छौं ।’
मुख्यमन्त्रीले संघीय सरकारले प्रदान गरेको सीमित रकमका आधारमा आगामी असार मसान्तसम्म खर्च गर्ने गरी सरकारले अल्पकालीन बजेट प्रस्तुत गरेको बताए । उनले भने– ‘हामीले सबै जिल्ला र मन्त्रालयबाट आएका चार हजार बढी योजनाका आधारमा बजेट बाँडफाँट गरेका भए एउटा योजनामा ४०/५० हजार रुपैयाँ भाग पथ्र्यो होला । त्यसैले अहिले सरकार सञ्चालन खर्च, कर्मचारीको तलवभत्ता, मन्त्री तथा सांसदहरूको सेवा सुविधाका साथै आगामी दिनमा सञ्चालन गर्नुपर्ने योजनाको सम्भाव्यता अध्ययन, राहत र अनुदान लगायतका क्षेत्रमा केन्द्रीत गरेर बजेट प्रस्तुत गरेका छौं ।’
कार्यक्रममा प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले उपलब्ध स्रोतसाधन र सम्पदाको समुचित उपयोगबाट प्रदेश समृद्ध बन्ने प्रचूर सम्भावना रहेको बताए ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले सरकारको नीति तथा कार्यक्रम र अल्पकालीन बजेटले आम जनतामा उत्साह जगाउन नसकेको, वितरणमा मात्रै ध्यान दिएको, अर्थ विविध शीर्षकमा अनावश्यक रूपमा ठूलो रकम विनियोजन गरेको लगायतका टिप्पणी गरेका थिए ।
कार्यक्रममा पत्रकारहरू चित्राङ्ग थापा, मनमोहन स्वाँर, उमीदप्रसाद बागचन्द, दीर्घराज उपाध्याय, हेमन्त पौडेल र वीरेन्द्र रावलले सरकार कामकारबाही, नीति तथा कार्यक्रम र बजेटबारे धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार