२ माघ २०८१, बुधबार

शैक्षिक गुणस्तर सुधारसम्बन्धी गोष्ठी



सुखड । कैलालीको घोडाघोडी नगरपालिकाभित्र रहेका ५७ वटा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सम्बन्धी गोष्ठी सोमबार सुखडमा भएको छ ।
गोष्ठीको प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले उद्घाटन गरे । कार्यक्रम नेकपा (एमाले) घोडाघोडी नगरपालिका कमिटीको आयोजनामा भएको थियो ।
सो अवसरमा सामाजिक विकास मन्त्री सोडारीले प्रदेश सरकार सम्पूर्ण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रतिवद्ध भएको चर्चा गरे ।
घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले नगरपालिकाले आगामी आर्थिक वर्षदेखि शिक्षालाई प्रमुख एजेण्डाका रूपमा अघि बढाउने बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पूर्णराज जोशीले नगरपालिकाभित्र रहेका ५७ वटा सामुदायिक विद्यालयमा माध्यामिक तहसम्म २६ हजार आठ सय ८० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । ती विद्यालयमा तीन हजार सात सय ५९ जना दलित तथा नौ हजार चार सय ३२ आदिवासी जनजाति समुदायका विद्यार्थी अध्ययन गरिरहेको उनले बताए ।
त्यस्तै सबै ५७ वटा विद्यालयमा ७२ जना बालविकास शिक्षक, एक सय आठ जना प्राथमिक तहका शिक्षक, निमावि तहमा ७० तथा मावि तहमा ६४ जना शिक्षकको दरबन्दी रहेका छन् ।
त्यस्तै, ५७ जना कार्यालय सहयोगी र एक सय ८९ जना निजी श्रोतका शिक्षक रहेका छन् ।
कार्यक्रममा एमालेका नगर सचिव नैनबहादुर साउँद, नेपाली काँग्रेसका बमबहादुर सिह, नेकपा माओवादी केन्द्रका चक्रबहादुर बिष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
एमाले नगरपालिका कमिटी संयोजक खडक रावतको अध्यक्षतमा भएको कार्यक्रमको भक्त शाहीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार