नगरपालिकाद्वारा कानुन, निर्देशिकाहरू जारी
कृष्णपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले विभिन्न कानुन, नियमावली, कार्यविधि, निर्देशिका र आचारसंहिता जारी गरेको छ ।
नगरपालिकाले पाँच वटा ऐन, तीन वटा नियमावली, १४ वटा कार्यविधि निर्देशिका र एउटा आचारसंहिता राजपत्रमा प्रकाशन गरेको जनाइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १०२ को उपधारा १ ले दिएको अधिकार प्रयोग गरी नगर सभाबाट निर्माण गरिएका ऐन, नियमावली, निर्देशिका, कार्यविधि र आचारसंहिता जारी गरी राजपत्र प्रकाशन गरिएको नगर प्रमुख कर्णबहादुर हमालले बताए ।
कृष्णपुर नगरपालिकाले स्थानीय तहको आर्थिक ऐन २०७४, स्थानीय तहको विनियोजित ऐन २०७४, आर्थिक कार्यविधि २०७४, प्रशासकीय कार्यविधि २०७४ र सहकारी ऐन २०७४ राजपत्रमा प्रकाशन गरिएका छन् ।
त्यस्तै, नगर कार्यपालिका कार्यसम्पादन नियमावली २०७४, नगर कार्यपालिका कार्य विभाजन नियमावली २०७४ र नगर कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्यविधि नियमावली, २०७४ रहेका छन् । यस्तै, नगरपालिका स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि २०७४, नगर सभा सञ्चालन कार्यविधि २०७४, नगर कार्यपालिका बैठक सञ्चालन कार्यविधि २०७४, आधारभूत तहको परीक्षा सञ्चालन सम्बन्धि कार्यविधि २०७४, मर्मत सम्भार कार्यविधि २०७४, जेष्ठ नागरिक परिचयपत्र वितरण कार्यविधि २०७४ र उपभोक्ता समितिको गठन, सञ्चालन र व्यवस्थापन सम्बन्धि कार्यविधि २०७४ रहेका छन् ।
त्यस्तै, छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका २०७४, मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन निर्देशिका २०७४, कार्यपालिका अन्तर्गत समिति तथा उपसमिति गठन सम्बन्धि कार्यविधि २०७४, टिप्पर तथा टयाक्टर सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७४, टोल विकास संस्था सञ्चालन कार्यविधि २०७४, घ वर्गको निर्माण व्यवसायको इजाजत सम्बन्धि कार्यविधि २०७४, लोडर सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७४ प्रकाशन गरिएका छन् ।
त्यसैगरी, कृष्णपुर नगरपालिकाका पदाधिकारीहरूका लागि आचारसंहिता २०७४ प्रकाशन गरिएको छ ।