२ माघ २०८१, बुधबार

संयुक्त रूपमा विद्यालय भर्ना अभियान



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ स्थित दुई वटा सामुदायिक विद्यालयले संयुक्त रूपमा विद्यार्थी भर्ना तथा घरदैलो कार्यक्रम जारी राखेका छन् । संयुक्त घरदैलो कार्यक्रम बैशाख २ गतदेखि शुरु भएको थियो ।
‘हामी सबैको इच्छा, अनिवार्य नि:शुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ ती विद्यालयले संयुक्त रूपमा विद्यार्थी भर्ना तथा घरदैलो कार्यक्रम गरे ।
सो वडाको वसन्तामा रहेको सरस्वती आधारभूत विद्यालय तथा बुछरियामा रहेको बडातडो आधारभूत विद्यालयले दुई वटा समूह बनाएर घरदैलो कार्यक्रम गरेका थिए । सो क्रममा उनीहरूले बालबालिकालाई विद्यालय भर्ना गर्न प्रेरित गरेका थिए ।
विगतका वर्षमा छुट्टाछुट्टै रूपमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएका ती विद्यालयले संयुक्त रुपमा कार्यक्रम गर्दा बढि प्रभावकारी हुने बताएका छन् ।
विद्यालय भर्ना तथा घरदैलो कार्यक्रममा शिक्षक शिक्षिका, अभिभावक, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको सहभागिता रहेको छ ।
बडातडो आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द जैशीले विद्यालय जाने उमेरका एक जना बालबालिका पनि भर्नाबाट बञ्चित हुन नपाउन् भन्ने उद्देश्यले संयुक्त रूपमा भर्ना अभियान सञ्चालन गरिएको बताए ।
सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक केशरबहादुर खड्काले अभिभावकका कारण विद्यालयमा भर्ना हुनबाट वञ्चित रहेका बालबालिकालाई खोजेर विद्यालयमा आउने वातावरण बनाउन यो अभियानले मद्दत गर्ने विश्वास व्यक्त गरे ।
वडा नम्बर ६ का अध्यक्ष विनोद विश्वकर्माले स्थानीय सरकारले पनि कोही पनि बालबालिका विद्यालय भर्ना हुनबाट वञ्चित नरहुन् भनेर आफूहरू पनि अभियानमा सहभागी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार