९ माघ २०८१, बुधबार

दुई दम्पत्ति निर्वाचित जनप्रतिनिधि



धनगढी । प्रदेश नम्बर सातमा दुई दम्पत्ति निर्वाचित जनप्रतिनिधि रहेका छन् । कैलाली र बझाङबाट दुई दम्पत्ति एउटै वर्ष जनप्रतिनिधिमा निर्वाचित भएका छन् ।

दुवै दम्पत्ति नेकपा (एमाले)बाट निर्वाचित भएका छन् । संयोगले दुवै दम्पत्तिको थर थापा रहेको छ र दुवै दम्पत्ति समान पदमा निर्वाचित भएका छन् ।

सात नम्बर प्रदेशका सभामुख अर्जुनबहादुर थापा र उनकी श्रीमति खप्तडछान्ना गाउँपालिका बझाङका उपाध्यक्ष पाउसरा थापा ।

२०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट ६५ वर्षीय अर्जुनबहादुर थापा प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । त्यसको केही महिनाअघि भएको स्थानीय निर्वाचनमा उनका श्रीमति ६० वर्षीया पाउसरा थापा बझाङकै खप्तडछान्ना गाउँपालिकामा उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

यसैगरी, कैलाली निर्वाचन क्षेत्र नम्बर २ (क) बाट एमालेका ५० वर्षीय रतनबहादुर थापा प्रदेश सभा सदस्यमा निर्वाचित भए । उनकी श्रीमति ४८ वर्षीया टीकादेवी थापा उनकै निर्वाचन क्षेत्रमा पर्ने लम्कीचुहा नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।
प्रदेश सभा सदस्य अर्जुनबहादुर थापा अहिले सभामुख छन् । सभामुखबाट संसदमा निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने भएकाले उनले पार्टीका सबै पद त्याग गरिसकेका छन् ।

बझाङमा एमालेका संस्थापक समेत रहेका सभामुख थापाले दुईपटक एमाले बझाङको नेतृत्व गरेका थिए । २६ वर्षसम्म शिक्षण पेशामा संलग्न रहेका उनी २०५६ सालमा भएको प्रतिनिधि सभामा थोरै मतले पराजित भएका थिए ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा १ बाट निर्वाचित प्रदेश सभा सदस्य रतन थापा एमाले कैलालीका उपाध्यक्ष पनि हुन् ।
खप्तडान्ना गाउँपालिकाका उपाध्यक्ष पाउसरा २०५४ सालमा तत्कालीन जिल्ला विकास समिति सदस्य बनेकी थिइन् । पाउसरा र उनका श्रीमान सभामुख थापा चार कार्यकाल सँगसँगै एमाले पार्टी जिल्ला कमिटीमा रहेका थिए । पाउसरा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ बझाङको संस्थापक पनि हुन् । उनी आफ्ना श्रीमानलाई नै आफ्नो राजनीतिक गुरु मान्छिन् ।

प्रदेश सदस्य रतन थापा र उनकी श्रीमति लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापा । तस्बिरहरू : प्रकाशविक्रम शाह

त्यस्तै, लम्कीचुहा नगरपालिका उपप्रमुख टीका पनि आफ्ना श्रीमानको प्रेरणाले नै राजनीतिमा सक्रिय भएको बताउँछिन् ।
स्थानीय तहको उपप्रमुख/उपाध्यक्षलाई स्थानीय तहको न्यायधिस समेत मानिन्छ । पाउसर र टीकादेवीका सामु समान चुनौति र भूमिका छन् । उनीहरू भन्छन्– ‘हामीले न्याय सम्पादनको काम गर्न अझै प्रशिक्षणको जरुरी छ ।’

श्रीमान/श्रीमति नै निर्वाचित जनप्रतिनिधि बनेका दुवै थापा परिवारले घरबार चलाउन खासै समस्या नभएको बताए । श्रीमान (अर्जुनबहादुर) प्रदेश सभामुख बनेकाले प्रदेशको अस्थायी राजधानी धनगढीमा बस्छन् । ‘उहाँसँग भेट गर्न वा हुन धनगढी अथवा बझाङमा कुनै कार्यक्रम हुनुर्प’ उपाध्यक्ष पाउसराले भनिन् । अस्थायी राजधानी भएकाले धनगढीमा नियमित रूपमा विभिन्न कार्यक्रम आयोजना हुने भएकाले पाउसराले आफ्ना श्रीमानसँग भेटघाट हुन पाएको बताइन् ।

प्रदेश सभाका सदस्य रतन भने सभाको बैठक सकेर दिनहुँजसो धनगढीबाट ७० किलोमिटर दुरीमा रहेको आफ्नो घर (लम्की) मै जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार