२ माघ २०८१, बुधबार

सिटी बसपार्क सञ्चालनबारे छलफल



टीकापुर । बस व्यावसायीहरूले आगामी ११ गतेबाट टीकापुर नगरपालिकास्थित सिटी बसपार्क मै पार्किङ गर्ने भएका छन् ।
मंगलबार टीकापुरमा सिटी बसपार्क सञ्चालनका विषयमा टीकापुर नगरपालिकाले आयोजना गरेको छलफलमा आगामी ११ गतेबाट सिटी बसपार्क सञ्चालनमा ल्याउने सहमति भएको जनाइएको छ ।
सिटी बसपार्कमा न्यूनतम पूर्वाधार बनिसकेकोले टीकापुर नगरपालिकाले बसपार्क सञ्चालनका लागि छलफल भएको थियो ।
नगरपालिकाले बस व्यवसायी समिति, बसपार्क निर्माण उपभोक्ता समिति, स्थानीय सरोकारवालासँगको छलफलपछि सिटी बसपार्क सञ्चालनमा ल्याउने निर्णय गरेको नगर प्रमुख तपेन्द्र रावलले बताए ।
यसअघि बसपार्क व्यवस्थित नभएको भन्दै बस व्यावसायीहरूले पार्किङ बहिष्कार गरेका थिए । टीकापुरको ब्लक नम्बर ३० मा रहेको बसपार्क व्यवस्थित गर्न समिति गठनपछि बसपार्कमा पूर्वाधार निर्माण भएको हो । निर्माण समितिका अध्यक्षमा नन्दराम बिकको नेतृत्वमा स्थानीयले रकम संकलन गरी बसपार्क व्यवस्थापन शुरु गरेका थिए । बसपार्क व्यवस्थापन शुरु भएपछि नगरपालिकाले बजेट विनियोजन गरी शौचालय, प्रतिक्षालय, काउन्टर लगायतका पूर्वाधार खडा गरेको छ ।
हाल खड्ग चौकमा अस्थायी रूपमा बस रोक्ने गरिएको छ । खड्ग चौकमा ठाउँ अभावका कारण दुर्घटना बढ्न थालेका छन् । खडक चौकमा बस रोक्दा ट्राफिक व्यवस्थापनमा समेत कठिनाई रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
अबदेखि खडक चौकमा बस नरोक्ने र रोकेमा जरिवाना तिर्न तयार रहेको बस व्यवसायी समितिले प्रतिबद्धता गरेका छन् ।
नगरपालिकाले बस मात्र नभई अटो रिक्सालाई समेत व्यवस्थापन गर्ने जनाएको छ । नगर प्रमुख रावलले अटो रिक्सा चालकहरूसँग एक चरणमा छलफल भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार