१२ श्रावण २०८१, शनिबार

दुवै छिमेकी मुलुकसँग नयाँ व्यापारिक नाका खोल्नुपर्छ– मुख्यमन्त्री भट्ट



धनगढी । सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले छिमेकी देश भारत तथा चीनसँगका नयाँ व्यापारिक नाका खोल्न पहल गरिने बताएका छन् ।
मुख्यमन्त्रीले दुवै छिमेकी मुलुकसँगका पुराना व्यापारिक नाकाको स्तरोन्नती तथा व्यवस्थित गर्न पनि पहल गरिने बताए ।
सोमबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले भने– ‘छिमेकी भारत र चीनसँग प्रदेश नम्बर सातको सीमाना जोडिएकोले नयाँ व्यापारिक नाका खोल्न र व्यवस्थित गर्न संघीय सरकारलाई आग्रह गर्ने लगायत अवश्यक पहल गरिने छ ।’
प्रदेश सरकारले चालू आर्थिक वर्ष (२०७४/०७५) को बाँकी तीन महिनाको लागि ल्याएको नीति तथा कार्यक्रममाथि भएको छलफलमा प्रदेश सभा सदस्यहरूद्वारा सीमा भन्सार नाकाको स्तरोन्नति तथा विस्तारबारे कुनै कार्यक्रम नल्याएकोमा तिखो आलोचना गरेका थिए । सांसदहरूले गौरीफन्टा नाका बन्द गर्न नहुने र खक्रौला लगायतका व्यापारिक नाकालाई व्यवस्थित गर्न माग गरेका थिए ।
मुख्यमन्त्री भट्टले सीमा भन्सार नाकाबारे प्रदेश सभामा उठेका प्रश्न, माग र सुझाव संघीय सरकारलाई पठाउने बताए । उनले भने– ‘दुवै छिमेकी मुलुकसँग नयाँ व्यापारिक नाका खोल्ने तथा पुराना नाकाको स्तरोन्नतीको माग प्रदेश सरकारको पनि हो ।’
मुख्यमन्त्रीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम छोटो अवधिका लागि मात्र भएकोले ठूला योजना (गुरुयोजनाहरू) आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा समावेश गरिने स्पष्ट गरे । उनले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बनाउँदा प्रतिपक्षको पनि आवश्यक सुझाव सल्लाह समेटिने बताए ।
संसद बैठकमा बोल्ने अधिकांस सांसदहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटन प्रवद्र्धन र सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए ।
मुख्यमन्त्री भट्टले संसदमा सांसदहरूद्वारा व्यक्त भावना, माग तथा सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएको बताए । उनले भने– ‘आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा यस क्षेत्रका जनताका पीडाकष्टको सम्बोधन गरिने छ । उनले हालको अल्पकालीन नीति तथा कार्यक्रम पनि जनताले विकासको अनुभूति हुने गरी ल्याइएको दावी गरे ।
उनले सत्तापक्ष वा प्रतिपक्षले प्रदेशको आर्थिक समृद्धिलाई साझा मुद्दा बनाउन आग्रह गरे ।
मुख्यमन्त्रीले जंगल बचाउन, प्रदेशलाई हरियाली बनाउन, कृषिको प्रवद्र्धन, जडीवुटी उत्पादन र प्रशोधन गर्न सरकारले विषेश कार्यक्रम ल्याउने बताए ।
२०७४ चैत २८ गते संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मुख्यमन्त्री भट्टले जवाफ दिए लगत्तै प्रदेश सभाले धन्यवाद प्रस्ताव गरेको थियो । प्रदेश सभाले प्रदेश प्रमुख मोहनराज मल्ललाई सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद दिएको हो ।
सोमबार बसेको संसद बैठकमा सभामुखले प्रदेश सरकारको कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पनि प्रदेश प्रमुखले प्रमाणीकरण गरी पठाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार