६ माघ २०८१, आईतवार

सांस्कृतिक अभियानका टोलीलाई स्वागत (भिडियाेसहित)



धनगढी । साहित्यिक–सांस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियानका टोलीलाई शनिबार सामाजिक विकास मन्त्रालयको प्राङ्गणमा स्वागत गरिएको छ ।
गत चैत १५ गते अभियानलाई क्रममा नेपाल र भारतका १९ स्थान पुगेर फर्किएको टोलीलाई मन्त्रालयले स्वागत गरेको हो ।
सो अवसरमा प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो पहिचान जोगाउन भाषा, संस्कृति, कलाको जगेर्ना गर्ने अभियान स्वागतयोग्य रहेको बताए ।
आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले स्वास्थ्य, कला, संस्कृति, साहित्यको जगेर्नाले मात्रै देश जोगिने बताए ।
उनले साहित्यिक–सांस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियानले भाषा, संस्कृति र कलाले देश जोडेको धारणा राखे ।
सुदूरपश्चिमाञ्चल साहित्य समाज कैलालीको अगुवाइमा भएको देश दर्शन अभियानका क्रममा मुलुकका प्रमुख पर्यटकीय केन्द्र नारायणगढ, पोखरा, काठमाडौ, जनकपुर, इटहरी, विराटनगर, झापा दमक, इलाम तथा नेपालीभाषीको बसोबास रहेका भारतीय शहर आसामको गुहावटी र तेजपुर, सिक्किम, दार्जिलिङ, लगायतका ठाउँमा सुदूरपश्चिमका कला संस्कृति झल्काउने हुड्केली, गौरा, छलिया, भुवो, सखिया नृत्य, होली, डेउडा प्रदर्शन गरिएको थियो ।
ती कला संस्कृति शनिबार सामाजिक मन्त्रालयको परिसरमा पनि देखाइएको छ ।

मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु र प्रदेश सभा सदस्यहरु देउडा खेलमा सामेल समेत भए ।

समाजका अध्यक्ष रामलाल जोशीका अनुसार हरेक ठाउँमा आफूहरुलाई राम्रो स्वागत भएको बताउदै आगामी बर्ष ती क्षेत्रका कला संस्कृतिकर्मीहरु सात नम्बरमा भ्रमणमा आउने बताए । टोलीमा ४१ जनाको सहभागिता रहेको थियो ।

सांस्कृतिक अभियानमा सुदूरपश्चिमकाे कला प्रस्तुतीः 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार